बुधबार, २० मे, २०२६
23:18 | ०४:०३

वर्षान्त २०२२: महामारी, जलवायु प्रकोप र बढ्दो भूराजनीतिक तनावले तड्पिएको वर्ष

शरदच्चन्द्र भण्डारी/रासस जनवरी १, २०२३

रुस युक्रेन युद्धले विश्व अर्थतन्त्र प्रभावित तुल्यायो

काठमाडौं । कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत चुनौतीका चाङ छाडेर सन् २०२२ विश्वबाट बिदा भएको छ । चुनौती नै चुनौतीको चौबाटोमा धकेलिएको सन् २०२३ को भविष्य विभाजनको घेराबाट बाहिरिएर आपसी एकताका साथ समयको हाँक सामना गर्दै विगतका कमीकमजोरीबाट पाठ सिकेर अघिबढ्ने भन्ने निर्णयमा निर्भर हुनेछ ।

अन्तर्राष्ट्रिय मौद्रिक र व्यापार प्रणालीमा ठूलो उतारचढाव आयो भने अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको आर्थिक वृद्धि यो वर्ष ३.२ प्रतिशतबाट २०२३ मा २.७ प्रतिशतमा घट्ने प्रक्षेपण गरयो । युरोजोन र जापानमा मुद्रास्फीति नयाँ उचाईमा पुग्यो । राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनले करिब ९० विकासशील देशको मुद्रा डलरको तुलनामा कमजोर भएको जनायोभने कोषले ६० प्रतिशतभन्दा बढी कम आय भएका विकासशील देश ऋण संकटमा परेको विवरण सार्वजनिक गरयो ।

अघिल्लो वर्षको प्रारम्भदेखि नै युरोपको आकाशमा मडारिएको युद्धको कालो बादल रुस–युक्रेन द्वन्द्वले विश्वभर पीडा र अनिश्चयमात्र थोपरेन अपतिु औषधिलगायत अत्यावश्यक सामग्रीको आपूर्ति शृङ्खलालाई तहसनहस बनायो । गहिरिदै गएको युक्रेन संकटले क्षेत्रीय र वैश्विक सुरक्षामा अन्तहीन अवरोध खडा गरयो । अमेरिकासहितका पश्चिमा राष्ट्र मस्कोको विरोधमा उत्रदा चीन र इरानलगायत केही देशको मौनताले युक्रेन युद्ध अन्त्य गर्ने प्रभावकारी प्रयास हुन सकेनन् । अन्ततः विश्वव्यापी सुरक्षा व्यवस्था नै जोखिमको शिकार भयो ।

युक्रेन संकट बढेपछि अमेरिका र उसका सहयोगीले रुसको ऊर्जा र अन्न निर्यातका माध्यम निलम्बन गर्ने, रुसी उत्पादन वहिष्कार गर्नेलगायत कठोर कदमको घोषणा गरेपछि इन्धन र खाद्यान्नको मूल्य बढेर उपभोक्तामा ठूलो चोट परयो ।

युरोपेली संघमा आवद्ध देश पनि इन्धन र खाद्यान्नको बढ्दो मूल्यबाट पीडित भए भने प्राकृतिक ग्यासको किफायती प्रयोगमा जान र मूल्यलाई स्थिर राख्न बाध्य भए । यद्यपि अपेक्षित लक्ष्य र उद्देश्य हासिल हुन सकेनन् । फलतः युरोपमा मूल्यवृद्धिको पीडामाथि अस्थिरता र असुरक्षाको अर्को पीडा थपियो । अफ्रिकी देश पनि त्यसबाट अछुतो रहेनन् । खाद्यसुरक्षाका मुद्दाले उनीहरूलाई पनि आहात तुल्यायो ।

ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीचको द्वन्द्व जारी रह्यो भने उत्तरकोरियाको आणविक अस्त्र निर्माणको महात्वाकाङ्क्षी योजनाले कोरियाली प्रायद्वीपमा दिगो शान्ति कायम गर्ने सत्प्रयासमा प्रतिकूल प्रभाव पारयो । जापान, दक्षिणकोरिया र अमेरिकाको प्योङयाङलाई एक्ल्याउने रणनीतिले परिस्थितिलाई अझ जटिल र उत्तेजक बनायो । अमेरिकासम्म प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र निर्माणमा उत्तरकोरिया अनवरत लागिरह्यो ।

एकपछि अर्को गर्दै एकतर्फी रूपमा लगाइएका आर्थिक नाकाबन्दीले उत्तरकोरिया आधारभूत मानवीय सहायतासमेत प्राप्त गर्न नसक्ने अवस्थामा पुग्यो ।

वर्ष २०२२ मा प्राकृतिक विपत्ति र जलवायुजन्य आपत्ले विश्वलाई नराम्ररी गाँज्यो । जलवायु परिवर्तनका कारण संसारमा समस्यामाथि समस्या थपिए । विश्वका धेरै देशले वन डढेलो बाढी, पहिरो र भूकम्पदेखि चरम मौसमी घटनासँग लड्नुपरयो । जलवायु परिवर्तनसम्बन्धी समस्या बढ्दा वेमौसमी वर्षा र चक्रवातले सयौँको ज्यान लियो भने पचासौँ हजारको जीवन कष्टकर बन्यो । केही दिनअघि अमेरिकाको बफेलोले झेलेको हिमआँधी होस् वा युरोपेली र अफ्रिकी देशको सुक्खा एवम् खडेरी, जमिन र जलका जीवको अस्तित्वमा परेको संकटलाई विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकासले सघाउन सकेन ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को संस्थापक सदस्य पाकिस्तानमा बाढीमा परी एक हजार सात सय ३९ जनाले ज्यान गुमाए भने ९६ लाख बालबालिकासहित तीन करोड ३० लाख विस्थापित भए । अर्बौँका भौतिक सम्पत्ति र संरचना नष्ट भए । सार्कको अर्को सदस्य देश श्रीलंका आर्थिक अनुशासन कायम गर्न नसक्दा टाट पल्टियो भने राष्ट्र र जनताका निम्ति केही नगर्ने शासकहरूलाई जनताले सत्ताबाट भगाएर नयाँ राजनीतिक नेतृत्वलाई राज्यसत्तामा स्थापित गराए । भारतको आसामलगायत अन्य राज्य बाढीको चेपेटामा पर्दा दुई सय जनाभन्दा बढीको ज्यान गयो ।

दक्षिणअफ्रिकाको बाढीले एक सय ६१ जनालाई बगायो भने पूर्वी अफ्रिकी देश खडेरीको पीडाबाट मुक्त हुन सकेनन् । मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयका अनुसार सोमालियोका खडेरीले ७१ लाखलाई भोकमरीको जोखिममा धकेल्यो भने युगाण्डामा अन्तर्राष्ट्रिय समुदायले सहयोग नगरे हरेक ३६ सेकेण्डमा खान नपाएर एक जनाले मर्नुपर्ने परिस्थिति सृजना हुने युरोपेली आयोगको चेतावनी सार्वजनिक भयो । कङ्गोको अवस्था पनि दयनीय रह्यो ।

ब्राजिलको पहिरोमा दुई सय ३३ जना पुरिए भने इण्डोनेशियाको भूकम्पले तीन सय ३४ जनाको ज्यान लियो । हजारौँ प्रभावित भएभने करोडौँका भौतिक संरचना भग्नावशेषमा परिणत भए ।

सन् २०२२ आर्थिक संकटका साथै राजनीतिक र सामाजिक विकृतिले भरिएको वर्ष बनेर गयो । विकासोन्मुख देशको मानव विकास सूचकांकमा खासै सुधार आएन भने, विश्वव्यापी शासन प्रणालीमा पनि खासै सुधार आएन बरु गम्भीर खतरा खडा भए । जापानको पश्चिमी सहर नारामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार गरी हत्या भयो ।

बेलायतकी महारानी एलेजाबेथ द्वितीय ७० वर्ष राज्यसत्ता सञ्चालन गरेर अनन्तयात्रामा निस्किइन् भने राजनीतिक स्थायित्व र लोकतन्त्रको जननी मानिने बेलायतमा लिज ट्रस र बोरिस जोनसनले राजीनामा दिएपछि ऋषि सुनक ५० दिनमा देशको तेस्रो प्रधानमन्त्री भए ।

बुर्किनाफासोमा दुईपटक सत्ता हत्याउने प्रयास भए जसले अन्तर्राष्ट्रिय समुदायलाई स्तब्ध बनायो ।

अन्तर्राष्ट्रिय फुटबलको महाकुम्भ सफलतापूर्वक आयोजना गरेर सानो खाडी मुलुक कतारले एसिया महादेशको गरिमा बढायो भने ३६ वर्षपछि साबिक विजेता फ्रान्सलाई हराएर अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधिमाथि कब्जा जमायो । अफ्रिकी मुलुक मोरक्कोको विश्वकप यात्रा र खेल प्रदर्शन पनि खेलप्रेमीका निम्ति अविष्मरणीय रह्यो ।

यो वर्ष समाप्त हुन एक दिन बाँकी हुँदा विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने पोर्चुगलका ‘स्टार’ सैतीस वर्षीय खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाए–साउदी अरबको अल नासर फुटबल क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिने सम्झौता गरेर ।

रोनाल्डोका प्रशंसकहरूमाझ यो खुशीको खबर सार्वजनिक भएको एक दिन अघि विश्वका महान् फुटबलर पेलेको निधनले दक्षिण अमेरिकी मुलुक ब्राजिललाई मात्र नभई संसारभरका फुटबलप्रेमी सबैलाई स्तब्ध बनायो ।

सोही दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी माताको पनि निधन भयो । वर्षको अन्तिम दिन फेरि विश्वका एक अर्ब २० करोड क्याथोलिकमाथि बज्रपात भयो पूर्वप्रमुख पादरी बेनेडिक्टको निधनले । क्याथोलिक चर्चका विसंगति र विवादबीच एक दशकअघि पदबाट राजीनामा दिएर भ्याटिकनको मठमा बसेका उनले छ सय वर्षपछि प्रमुख पादरीबाट राजीनामा गर्ने पहिलो प्रमुख पादरीका रुपमा इतिहास रचेका थिए ।

विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको यो वर्षमा उत्पादन र उत्पादकत्व बढाउने खासै गतिविधि नभएकामा संयुक्त राष्ट्रसंघका महासचिवको चिन्ता फ्रान्सेली दैनिक ले मोन्डेमा छापियो । उनको चिन्ताको कारण जनसङ्ख्या वृद्धिमात्र नभएर हाम्रो मानव परिवारबीच बढ्दो विभाजन, पृथ्वीका प्राकृतिक स्रोतको चरम दोहन र त्यसले निम्त्याउने विपद्प्रति लक्ष्यित थियो । ‘हुँदा खाने र हुनेखाने’ बीचको गहिरो खाडल पुर्नेतर्फ विश्व समुदाय लाग्नुपर्ने महासचिवको मननीय सन्देश छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू