बुधबार, २० मे, २०२६
11:53 | १६:३८

बेलायतमा ध्यान शिविरमा व्यस्त स्वामी अर्हत

नेपाली लिङ्क मे २०, २०२६


लन्डन – काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले बेलायतका विभिन्न स्थानमा ध्यान शिविर सन्चालन गरेका छन् ।

गत बिहीबार लन्डन आइपुगेका स्वामी अर्हतले मे १६ तारिख (शनिबार) डार्टफोर्ड हिन्दु मन्दिरमा योग तथा ध्यान शिविर संचालन गरेका थिए ।

उनले आइतबार बिहान नर्थोल्ट कम्युनिटी हल, साउथ ह्यारोमा योग तथा ध्यान सत्र संचालन गरे । नेप्लिज ब्रिटिश कम्युनिटीले उक्त कार्यक्रम आयोजना गरेको थियो।

त्यस्तै स्वामी अर्हतले मे १८ तारिख (सोमबार) एभरेष्ट कुजिन साउथ हयाम्प्टनमा एक दिवसीय ध्यान शिविर संचालन गरे ।

ती सत्रहरुमा स्वामी अर्हतले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताए । “जेनरेशन ग्याप के हो ? हामीलाई बच्चाहरुसंग कुरा गर्न किन गाह्रो हुन्छ? त्यसको जग के हो र हामीले कसरी आफ्नै छोरा छोरीसंग संवाद गर्ने कला सिक्न सक्छौं ?” जस्ता विषयहरुमा उनले प्रकाश पारेका थिए।


स्वामी अर्हतले आगामी शुक्रबार २२ मेदेखि २५ मेसम्म मूर हल, मेडनहेडमा चार दिवसीय ध्यान शिविर संचालन गर्ने ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले बताए । ५० जना भन्दा बढी साधकहरुले उक्त आवासीय शिविरमा भाग लिने उनले जनाए।

उक्त आवासीय शिविरमा स्वामी अर्हतले छोरा छोरी र अभिभावकलाई संगै राखेर ध्यान सत्र चलाउने कार्यक्रम छ। घरमा दुइ पुस्ता बीच कसरी समझदारी ल्याउने, मोबाइल डिटक्स घरमै कसरी गर्न सकिन्छ, हाल उपलब्ध भौतिक सुविधाको आधारमा कसरी आफ्नो आत्मिक शान्ति, भित्री खोज र रुपान्तरण गर्दै लाने भन्ने कुरा पनि उनले बताउने छन्।

ओशो तपोवनका संस्थापक बोधिसत्त्व स्वामी आनन्द अरुणका निकट सहयोगी स्वामी आनन्द अर्हतले गत १९ वर्षदेखि बेलायतमा ध्यान शिविरहरु सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू