शुक्रबार, वैशाख १४, २०८१
12:19 | १७:०४

ग्लोबल आइएमई बैंकले अधिकृत पूँजी ५० अर्ब पुरयाउने   

रासस डिसेम्बर ९, २०२२

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एकापसमा गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरुपमा पारित गरेको हो ।

गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल-अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डिडिए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात एक बराबर एक रहने गरी स्वीकृत गरेको छ ।

साधारणसभाले बैकको अधिकृत पूँजी रु २५ अर्बलाई वृद्धि गरी रु ५० अर्ब पुरयाउने प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८-७९ को कूल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको तीन प्रतिशत बोनस शेयर र १० दशमलव छ प्रतिशत नगद लाभांश गरी जम्मा १३ दशमलव छ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८-७९ मा सञ्चालन मुनाफा रु सात अर्ब १८ करोड र कर पछिको मुनाफा रु चार अर्ब ९५ करोड आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी रु २४ अर्ब ५० करोड पुग्नेछ ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।

उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए ।

आव २०७८-७९ मा बैंकको खुद ब्याज आम्दानीतर्फ गत वर्षभन्दा रु एक अर्ब १५ करोडले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत वर्षको तुलनामा १२ दशमलव पाँच नौ प्रतिशतले वृद्धि भई रु चार अर्ब ९५ करोड कायम भएको छ ।

हाल बैंकले रु दुई खर्ब ८९ अर्बभन्दा बढी निक्षेप संकलन गर्नुका साथै दुई खर्ब ७३ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ ।

बैंकले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू