शुक्रबार, चैत १६, २०८०
05:05 | १०:५०

नवलपरासी जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

रासस डिसेम्बर १, २०२२

जिप दुर्घटनाका घाइतेहरु

मध्यविन्दु, १५ मङ्सिर -नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गरे ।

दुर्घटना परी घाइते भएकाको उद्धार गर्ने क्रममा थप दुईको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । घाइते सात जनालाई उद्धार गरी अस्पताल लगिएको छ ।

सडकबाट करिब तीन सय मिटर तल खसेको जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । साँझ साढे ५ बजे भएको दुर्घटनामा घाइते तथा मृतकको उद्धार साढे ८ बजेसम्म जारी थियो ।

घाइते तथा मृतकको उद्धार गर्न निकै कठिन भएकाले मृतकको सङ्ख्या बढेको जनाइएको छ । घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू