मंगलबार, चैत ६, २०८०
09:28 | १५:१३

अन्तर्राष्ट्रिय विद्यार्थी कडाइ गर्दै बेलायत, बिना कारण समातिए नेपाली

नेपाली लिङ्क नोभेम्बर २९, २०२२

लन्डन । खुद आप्रवासन संख्या अहिलेसम्मकै उच्च भइरहंदा बेलायतले अन्तर्राष्ट्रिय विद्यार्थीलाई कडाइ गर्ने भएको छ । 

बेलायतका नयां प्रधानमन्त्री ऋषि सुनाकले विश्वविद्यालयमा न्यून गुणस्तर डिग्री भर्ना र ‘डिपेन्डेन्ट’ ल्याउन कडाइ गर्ने योजना सोचिरहेको प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटले जनाएको हो ।   

प्रधानमन्त्री सुनाकको भनाइ उधृत गर्दै उनका प्रवक्ताले बीबीसीसंग भनेका छन्, ‘प्रधानमन्त्री अध्यागमन तह घटाउने कुरामा पूर्ण प्रतिवद्ध हुनुहुन्छ । हामी अध्यागमन प्रणाली चुस्त बनाउन सबै उपाय अपनाउने सोचिरहेका छौं ।’

ब्रिटिश सरकारी तथ्यांकका अनुसार जुन २०२१ देखि जुन २०२२ को बीचमा बेलायत छोडेर जाने मानिसको तुलनामा ५०४,००० बढी मानिस बेलायत आएका थिए । एक वर्ष पहिले चाहिं केवल १७३,००० बढी मानिस बेलायत आएका थिए।

अफिस फर न्याशनल स्टाटिस्टिक्सका अनुसार युरोपेली संघ बाहिरबाट २७७,००० विद्यार्थी पढ्नका लागि बेलायत आएका छन्, जुन बेलायत आउने कुल संख्याको ३९ प्रतिशत हो। 

ब्रिटिश गृहमन्त्री सुयेला ब्रेभरमनले आफूले खुद आप्रवासनलाई वार्षिक एक लाख भन्दा तल झार्न चाहेको बताएकी छिन्। ब्रेभरमनले सो प्रस्ताव लगेकी बताइएको छ ।

बेलायती अर्थतन्त्रमा अन्तर्राष्ट्रिय विद्यार्थीको योगदान उल्लेख्य छ । दि हायर एजुकेशन स्टाटिसटिक्स एजेन्सीको तथ्यांकमा सन् २०२० र ०२१ मा अन्तर्राष्ट्रिय विद्यार्थीले ९ दशमलव ९५ बिलियन पाउण्ड ट्यूसन फि तिरेका छन् । त्यो वर्ष बेलायती विश्वविद्यालयमा ६ लाख ५ हजार एकसय ३० बढी विदेशी विद्यार्थी भर्ना भएका छन् । 

अध्यागमन नीतिका एक जना सल्लाहकारले आप्रवासी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय विद्यार्थीलाई नियन्त्रण गरिए त्यसले विश्वविद्यालयहरु टाट पल्टिने चेतावनी दिएका छन् । 

प्रधानमन्त्री ऋषि सुनाकको योजनाले विशेष गरि विपन्न क्षेत्रका विश्वविद्यालय संकटमा पर्ने सरकारको माइग्रेसन एड्भाइजरी कमिटीका अध्यक्ष प्राध्यापक ब्रायन बेलले बीबीसी रेडियो फोरको कार्यक्रममा बताएका हुन् ।

‘यदि अन्तर्राष्ट्रिय रुट बन्द गर्ने हो भने बेलायती विश्वविद्यालयहरु कसरी टिक्ने हुन् मलाई थाहा छैन्’, उनको प्रश्न छ, ‘विदेशी विद्यार्थीलाई एलिट विश्वविद्यालयमा मात्र भर्ना अनुमति दिने हो भने अक्सफोर्ड, क्यामब्रीज र लन्डनले त राम्रो गर्लान् तर न्यू क्यासल, उत्तर पूर्वी, उत्तर पश्चिम इंग्ल्याण्ड र स्कटल्याण्डले के गर्ने?’

बेलायती अर्थमन्त्री जेरेमी हन्टले भने गत साता अझै केही वर्षका लागि आप्रवासी आवश्यक हुने तर्क राख्दै यदि अध्यागमन नियन्त्रण गर्ने हो भने दीर्घकालिन योजना ल्याउनुपर्नेमा जोड दिएका थिए । बेलायती अर्थतन्त्रलाई असर नगर्ने गरि नीति ल्याउनुपर्ने अर्थमन्त्रीको धारणा छ । दि नेशनल युनियन अफ स्टुडेन्ट्सले पनि अन्तर्राष्ट्रिय विद्यार्थी कडाइ गर्ने सरकारको नयां योजना हांस्यास्पद हुने टिप्पणी गरेको छ ।

ब्रेक्जिटपछि बेलायत सरकारले क्षमतावान अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरि ग्रयाजुएट इमिग्रेसन रुट ल्याएको थियो । सन् २०२०, १ जुलाईबाट लागू भएको ग्रयाजुएट इमिग्रेसन रुटमार्फत बेलायती विश्वविद्यालयबाट डिग्री गर्ने विद्यार्थीले दुई वर्ष र पिएचडी वा डक्टोरल गर्ने विद्यार्थीले तीन वर्षको वर्क परमिट (पिएसडब्लु) पाउने व्यवस्था छ । बेलायतले गत अप्रिल २०१२ मा पिएसडब्लु रुट खारेज गरिदिएको थियो ।

बेलायतको नयां नियमपछि बेलायती विश्वविद्यालयमा अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या अहिले अकासिएको छ ।

तर, बेलायत आएका नेपाली विद्यार्थीको यकिन तथ्यांक लन्डनस्थित नेपाली दूतावाससंग छैन् । तथ्यांक संकलन गर्ने मेकानिजम आफूसंग नभएको दूतावासको भनाइ छ ।

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख एवं प्रवक्ता रोशन खनालले विद्यार्थीका केही समस्या सुनिने गरेपनि कसैले दूतावासमा सम्पर्क नगरेको बताइन् । 

‘कुनै विद्यार्थीलाई अप्ठेरो परे खवर गर्नू दूतावासले सहयोग गर्छ’, खनालले भनिन्, ‘एकजना विद्यार्थी सुलभ खड्काको केसमा पनि दूतावासले सिफारिस गरिदिएको थियो ।’

उनले विद्यार्थी पनि सचेत हुन जरुरी रहेको बताइन् । ‘आफू कुन कोर्स कहां पढ्ने नबुझी आउंदा अप्ठेरो परेको सुनिन्छ । नेपालबाट बुझेर आए धेरै समस्या टर्न सक्छ’, खनालले भनिन् ।

ब्रेक्जिटसंगै बेलायतले गत १ जनवरीदेखि आफ्नो अध्यागमन नियममा परिवर्तन गर्दै अंकमा आधारित बनाएको छ ।

क्षमतावान उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पढाइपछि बेलायतमै ’करिअर’ बनाउन अवसर दिने सरकारको नीतिले आप्रवासीको चाप बढेपछि सरकार फेरि नियन्त्रणको कठोर बाटोमा लागेको कतिपयको बुझाइ छ ।

बिना कारण नेपाली विद्यार्थी गिरफ्तार

यसैबीच, नेपालबाट पढ्न आएका एकजना नेपाली विद्यार्थीलाई बेलायती अध्यागमन अधिकारीले बिना कारण गिरफ्तार गरेका छन् ।

यूके बोर्डर एजेन्सीका कर्मचारीले आफ्नो विश्वविद्यालयको मोड्यूल भन्न नसकेको आरोपमा सुलभ खड्कालाई गिरफ्तार गरेर १२ दिन थुनेको बेलायती अखवार गार्डियनले जनाएको छ । 

अध्यागमन अधिकारीले गत महिना म्यानचेष्टर विमानस्थलमा नक्कली विद्यार्थीको आरोपमा समातेर थुनेका थिए । कष्टडीमा आफूलाई अपराधी जस्तो व्यवहार गरिएको गुनासो खड्काको छ ।

२३ वर्षीय खड्कासंग आफू पढ्ने योर्क सेन्ट जोन युनिभर्सिटीका कागजात, भिसा र एकवर्षको फि पुरै तिरेको प्रमाण हुंदा पनि कोर्सबारे जवाफ दिन नसकेको भन्दै कर्मचारीले गिरफ्तार गरेका थिए ।

पछि होम अफिस अधिकारीले गल्तीवश समातिएको जनाउंदै खड्कालाई रिहा गरेपनि विश्वविद्यालयले भर्ना समय एक साताअघि नै सकिएकाले स्पोन्सरसीप रद्द गरिएको जनाउ दिएको बताइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू