बुधबार, जेठ २, २०८१
14:16 | १९:०१

कांग्रेस घोषणापत्रः मतदाता लोभ्याउने दस्तावेज

रासस अक्टोबर ३०, २०२२

काठमाडौं । नेपाली कांग्रेसले सबै जातजातिको कला, संस्कृति, वेषभूषा एवं जातीय पहिचान झल्कने गरी सातवटै प्रदेशमा सांस्कृतिक सङ्ग्रहालय स्थापनालाई प्राथमिकतामा राखेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि सङ्कल्पपत्र सार्वजनिक गर्दै कांग्रेसले विभिन्न जातजाति, समुदाय र भूगोलको भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत एवं इतिहास झल्कने कम्तीमा प्रदेशस्तरीय एक सङ्ग्रहालय स्थापना गरिने प्रतिबद्धता जनाइएको छ । कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा नेपालका सबै जातजातिका भाषामा पठनपाठनको व्यवस्था गरिने उल्लेख छ ।

सातै प्रदेशमा भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, चलचित्र, नाटक प्रदर्शनका लागि प्रेक्षालयको स्थापना गरिने बाचा पार्टीले गरेको छ । राज्यको लगानी वृद्धि गर्दै स्रष्टा सर्जकको वृत्ति विकास र क्षमता अभिवृद्धि गरिने भएको छ । स्रष्टा, सर्जक र कलाकारलाई सम्मान, पुरस्कार र संरक्षणको व्यवस्था गरिने पनि सङ्कल्पपत्रमा उल्लेख गरिएको छ ।

‘कला र संस्कृतिको उन्नयनः समुन्नत नेपालको पहिचान’ नाराका साथ कांग्रेसले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलगायत देशका महत्वपूर्ण प्राज्ञिक संस्थालाई प्रभावकारी बनाउन पर्याप्त बजेट विनियोजन गर्ने घोषणा गरेको छ ।

विद्यालय तहदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा नेपाली साहित्य, कला, संस्कृति, इतिहास एवं ज्ञान विज्ञानका विषयवस्तु समाहित गरी समयसापेक्ष परिमार्जन गर्ने कांग्रेसले जनाएको छ ।

नेपाली चलचित्र र सम्बन्धित क्षेत्रलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत राखी नियमनकारी संस्थालाई राष्ट्रिय चलचित्र आयोगको स्वरुपमा रुपान्तरण गरी पूर्ण स्वायत्त बनाइने भएको छ ।

स्रष्टा सर्जकको प्रतिलिपि अधिकारलाई कानुनीरूपमा थप मजबुत बनाउँदै पूर्णरूपमा कार्यान्वयन गराउन काम गर्ने कांग्रेसको प्रतिबद्धता छ ।

लोपोन्मुख लोकसङ्गीत सम्पदाको संरक्षणका लागि प्रभावकारी कार्यक्रम तर्जुमा गरिने भएको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति, चलचित्र, हस्तकला, मूर्तिकला, काष्ठकला तथा वास्तुकलाका कुनै पनि सामग्री सूचना र रचना नेपाल बाहिर निर्यात गर्दा अर्को राष्ट्रसँग समानताका आधारमा गरिनुका साथै कर छुटको व्यवस्था गरिने भएको छ ।

नाफामूलक व्यावसायिक एवं वित्तीय संस्थाले खर्च गर्दै आएको सामाजिक उत्तरदायित्वअन्तर्गतको उल्लेख्य अंश भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा खर्च गर्ने नियम ल्याउने कांग्रेसको प्रतिबद्धता छ ।

सर्वाङ्गीणको विकासको अवधारणामा भौतिक विकासदेखि सांस्कृतिक वैभव र पहिचानसम्मको वृहत्तर अवधारणा समावेश गरिएको पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वको घोषणापत्र निर्माण उपसमितिले उल्लेख गरेको छ ।

‘कांग्रेसको संकल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी’

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको संकल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताइएको छ ।

कांग्रेसले सङ्कल्पपत्रका बारेमा विस्तृत जानकारी दिन आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा पार्टीका सहमहामन्त्री एवं घोषणापत्र तयारी समितिका सदस्य जीवन परियारले सङ्कल्पपत्र तयारीका क्रममा भएगरेका अध्ययन तथा कार्यबारे जानकारी दिए ।

उनले सङ्कल्पपत्र तयारीका लागि पार्टीको २०१५ सालको घोषणापत्रदेखि सबै घोषणापत्र अध्ययन गरी के कति कमजोरी भए र कति कार्यान्वयन भएलगायत विषयमा अध्ययन गरिएको जानकारी गराए । परियारले अहिलेको सङ्कल्पपत्र मुलुकको वास्तविक अवस्थामा आधारित रहेर कार्यान्वयनयोग्य, यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको स्पष्ट पारे ।

यस्तै सञ्चारकर्मीका जिज्ञासा बारेमा स्पष्ट पार्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं समिति सदस्य डा स्वर्णिम वाग्लेले हाल छरिएका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्न सङ्कल्पपत्रमा कोखदेखि शोकसम्म कार्यक्रम प्रस्ताव गरिएको बताए ।

जीवनका जोखिमपूर्ण चरणमा राज्यले कसरी सहयोग गर्न सक्छ भनेर नै उक्त कार्यक्रम ल्याइएको स्पष्ट पार्दै उनले साधन स्रोतको मितव्ययी परिचालन गर्न पनि यो कार्यक्रम अघि बढाइएको जानकारी गराए । यसले लोककल्याणकारी राज्यको जग बसाल्ने डा वाग्लेको भनाइ थियो ।

उनले सङ्कल्पपत्रमा उल्लेख ऊर्जालगायतका तथ्याङ्क यथार्थपरक र वास्तविक भएको स्पष्ट पार्दै निजी क्षेत्रलाई उत्साही बनाउने विभिन्न कार्यक्रम रहेकोसमेत जानकारी दिए ।

डा वाग्लेले विसं २०४९ पछि कांग्रेसको नीतिअनुसार मुलुकमा शैक्षिक, स्वास्थ्य, आर्थिक, सामाजिक, भौतिक प्रगति र सिर्जना भएको रोजगारीको अवस्थाका बारेमा समेत जानकारी गराएको थिए ।

यसैगरी कांग्रेस केन्द्रीय सदस्य एवं समिति सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले निजी क्षेत्र प्रवद्र्धन गर्न सङ्कल्पपत्रमा केही नयाँ कुरा ल्याइएको बताए । मुलुकमा २४ घण्टा काम गर्ने वातावरण बनाउन, विद्युत् प्रसारण लाइनको सहज व्यवस्थापनलगायतका नीतिले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उनले जानकारी दिए ।

श्रम बजारको मागअनुसारको व्यवस्थाका लागि पनि आवश्यक मानवस्रोत विकासमा जोड दिइएको बताउँदै प्रा. डा. पोखरेलले सङ्कल्पपत्रका नीति र सिद्धान्त अति महत्वाकांक्षी नभई वास्तविकतासँग नजिक रहेको स्पष्ट पारे । समग्रमा सुशासन र आर्थिक विकास प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।

समिति सदस्य डा कृष्ण पौडेलले शिक्षा क्षेत्रको विषयमा पार्टीले सङ्कल्पपत्रमा उल्लेख गरेका विषयमा स्पष्ट पार्दै संविधानले व्यवस्था गरेका प्रावधान लागु गर्न प्रतिबद्धता गरिएको बताए ।

निजी र सार्वजनिक शिक्षालाई कसरी व्यवस्थित गर्ने भनेर पार्टीले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गर्दै उनले रोजगारीमूलक, व्यावसायिक र प्राविधिक शिक्षाका लागि विभिन्न नीति अवलम्बन गरिएको जानकारी दिए ।

कार्यक्रममा गेजा शर्मा वाग्लेले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धमा र विदेश नीतिका बारेमा सहमतिको दस्तावेज बनाउनुपर्नेमा प्रस्ताव गरिएको जानकारी गराए ।

प्रताप पौडेलले स्वास्थ्यका विषयमा सङ्कल्पपत्रमा उल्लेखित विषयबारे स्पष्ट पार्दै स्वास्थ्य प्रणाली व्यवस्थित बनाउन अवलम्बन गरिएको एकीकृत नीतिका बारेमा जानकारी दिए ।

कोही पनि नेपाली नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भनेर सबैलाई अनिवार्य बिमामा आबद्ध गराउने तथा क्षमताअनुसार प्रिमियम तिर्नुपर्ने व्यवस्था अघि बढाएको उनले स्पष्ट पारे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू