बेलायतमा नेपाली नर्सको असामयिक निधन, शव नेपाल पठाउन एनआरएनए यूकेको सहयोग



लन्डन- बेलायतमा कार्यरत एक नेपाली नर्सको असामयिक निधन भएको छ।
बेलायतको डोरसेट ब्रिडपोर्ट, चारमाउथ बस्दै आएकी ३५ वर्षीया प्रतिमा बादे श्रेष्ठको गत सेप्टेम्बर ९ का दिन आकस्मिक निधन भएको हो।
परिवारका अनुसार सामान्य स्वास्थ्य अवस्था रहेकी प्रतिमा उक्त दिन बाथरुम गएको धेरै बेरसम्म ननिस्किएपछि खोजी गर्दा बेहोस अवस्थामा कमोडमा बसिरहेको फेला परेकी थिइन्। त्यसलगत्तै बर्नमाउथ अस्पताल पुर्याइएकी उनलाई डाक्टरले मृत घोषणा गरेका थिए।
उनको मृत्यको कारणसम्बन्धि रिपोर्ट अस्पतालबाट हालसम्म प्राप्त नभएको परिवारले जनाएको छ।
६ वर्षीय छोरा र मुटुका रोगी पतिका साथ झन्डै ४ वर्षदेखि बेलायत बस्दै आएकी स्वर्गीय प्रतिमा एक नर्सिङ होममा नर्सका रुपमा कार्यरत थिइन्।
नेपालमा उनको माइती बनेपा तथा घर पहिला तेह्रथुम र हाल काठमाडौ कोटेश्वर थियो।
स्वर्गीय प्रतिमाको अन्तिम संस्कार बुधबार पशुपति आर्यघाटमा गरिंदैछ। जसका लागि उनका पति र छोरा मंगलबार मात्रै बेलायतबाट नेपाल आइपुगेका छन् भने उनको शव बुधबार बिहानसम्म आइपुग्ने जनाइएको छ।
शव नेपाल पठाउन एनआरएनए यूकेको सहयोग
बेलायतमा आकस्मिक निधन भएकी प्रतिमाको शव नेपाल पठाउन एनआरएनए यूकेले आर्थिक सहयोग गरेको छ।
उनको पार्थिव शरीर नेपाल पठाउन एनआरएनए यूकेले १ हजार १ सय १४ पाउण्ड सहयोग गरेको हो।
स्वर्गीय बादेको शव नेपाल पठाउन उनको परिवारको तर्फबाट आर्थिक सहयोगको लागि अनुरोध आएपछि एनआरएनए यूके कार्यसमितिभित्रै रकम संकलन गरी सहयोग गरिएको हो।
एनआरएनए यूके कोषाध्यक्ष सरोज थापाले सहयोग रकम स्वर्गीय बादेका पति उकेश श्रेष्ठको बैंक खातामा हस्तान्तरण गरिसकिएको बताए।
एनआरएनए यूके बेलायतस्थित नेपाली समुदायको सुख-दुःखमा सधैं सँगै रहने भन्दै अध्यक्ष राजेन्द्र पुडासैनीले यस्ता सहयोगहरु व्यवस्थित र प्रभावकारी बनाउन भविष्यमा आपतकालीन राहत कोष नै स्थापना गर्ने तयारी भइरहेको पनि जानकारी दिए।
यस्ता अप्रिय घटनाहरुबाट जोगिन र स्वस्थ जीवन जिउनका लागि तनाव व्यवस्थापन निकै महत्वपूर्ण रहने भन्दै उनले यसतर्फ सचेत र सजग रहन बेलायतवासी सम्पूर्ण नेपालीमा आव्हान गरेका छन्।
उता, स्वर्गीय प्रतिमाका पति उकेश श्रेष्ठले एनआरएनए यूकेको सहयोग रकम आफ्नो खातामा प्राप्त भइसकेको जानकारी दिँदै दुखको घडीमा आफ्नो परिवारलाई दिइएको साथ र सहयोगका लागि आभार व्यक्त गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५