बुधबार, वैशाख १२, २०८१
08:29 | १३:१४

अरनिको अन्तरराष्ट्रिय पुरस्कारका लागि उत्कृष्ट पाँच कृति चयन

नेपाली लिङ्क अक्टोबर १, २०२२

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय कार्यसमितिद्वारा प्रत्येक वर्ष गैरआवासीय नेपाली लेखकद्वारा लेखिएका सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने दुई लाख रुपैयाँ राशीको ‘अरनिको अन्तरराष्ट्रिय पुरस्कार’ का लागि मूल्यांकन समितिले पाँच उत्कृष्ट कृति सिफारिस गरेको छ ।

जसमा चेतनाथ आचार्यको ‘रूइबा’ उपन्यास, नगेन्द्र न्यौपानेको ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ नियात्रा संग्रह, अजित उत्सवको ‘आकाश गंगाको किनार’ कविता संग्रह, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’ कविता संग्रह र काङमाङ नरेश राईको ‘तेप्लायु’ कविता संग्रह परेका छन् ।

आज सम्पन्न अरनिको अन्तरराष्ट्रिय पुरस्कार व्यवस्थापन समितिको बैठकले उक्त सिफारिसलाई अनुमोदन गरी थप अध्ययन गरेर माथिका पुस्तकमध्ये सर्वोत्कृष्ट कृतिलाई यस वर्षको ’अरनिको अन्तरराष्ट्रिय पुरस्कार’ प्रदान गर्ने जानकारी गराएको छ ।

उत्कृष्ट पाँचमध्ये चेतनाथ आचार्यको उपन्यास ‘रूइबा’ ले तामाङ संस्कृतिमा गहिरो पहुँच राखेको आभास हुन्छ । उपन्यासमा ‘न्याउली’ नामक महिला पात्रको जीवनपर्यन्तको संघर्षलाई बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ ।

सोझा व्यक्तिहरूलाई वैदेशिक रोजगारीको नाममा कसरी तस्करीमा समेत प्रयोग गरिन्छ भन्ने कुरा स्पष्ट रूपमा ‘रूइबा’ मा उल्लेख भएको छ । यो उपन्यासले एउटा उठाउनै पर्ने मुद्दालाई आधिकारिक किसिमले उठाएको छ ।

निकै सरल, कलात्मक र मिठासपूर्ण भाषामा लेखिएको नगेन्द्र न्यौपानेको नियात्राहरूको संग्रह हो– ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ । यसमा कतिपय ठाउँमा वैचारिक निबन्धको बान्की समेत भेटिन्छ । यस संग्रहभित्रका नियात्राहरू छिचोल्दै गर्दा पाठकलाई आफूले नदेखेको तर आफूजस्तै नेपालीहरूको अर्को समाजको भित्री तहमा पसेको रोचक अनुभूति हुन्छ ।

समाजभित्र पसेर त्यहाँको सुख, दुःख, प्राप्ति र छट्पटीलाई पर्गेल्ने कलामा यसका लेखकको क्षमता विलक्षण लाग्छ । वर्तमान समयमा लेखिँदै गरेका कवितामा आक्रोश बढी मुखर भएर कलात्मक ओज घट्दै गएको हो कि भन्ने आभास भैरहेका बेला काङमाङ नरेश राईको कविता–कृति ‘तेप्लायु’ का सजिला तर कलात्मक कविताले निकै आसा जगाउँछ ।

विभिन्न उपशीर्षकका संग्रहित यी कवितामा कविको सामाजिक, राजनैतिक चेतसंगै वृहत्तर मानवीय चेत पनि बलियो गरी प्रकट भएको छ । दीपा मेवाहाङ राईको कविता संग्रह ’यादको सन्दुक’मा जीवन, प्रेम र समाजसित जोडिएका स्मृतिजन्य सुकोमल भावहरूलाई कुशलतापूर्वक काव्यिक धरातलमा उभ्याइएका छन् ।

त्यसैले यस संग्रहका कविताहरू सरल भएर पनि दार्शनिक चेतले भरिएका छन् । यो संग्रहले कविता क्षेत्रमा उनको उपस्थितिलाई महत्वपूर्ण बनाएको छ । अजित उत्सवको ‘आकाशगंगाको किनार’ का कविताहरूमा युगौंदेखि नेपाली समाजमा गुजुल्टिएररहेका विभेद, तिरष्कार अनि अन्यायको विरोधमा र पहिचानको खोजीमा संघर्षरत् आवाजहरू कतै गुनासा र कतै आक्रोश भएर अभिव्यक्त भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू