मंगलबार, वैशाख ११, २०८१
19:12 | २३:५७

छुरा प्रहारपछि घाइते विश्व प्रसिद्ध साहित्यकारको भेन्टिलेटरमा उपचार जारी

रासस/एएफपी अगस्ट १३, २०२२

न्यूयोर्क, २८ साउन –न्यूयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ ।

उनका सहयोगी एन्ड्रयु वाइलीले भने, “सलमानको एउटा आँखा गुम्ने सम्भावना छ । उहाँको पाखुराका नसाहरू काटिएका छन् र उहाँको कलेजोमा छुरा प्रहारबाट क्षति पुगेको छ । रूश्दी बोल्न नसक्ने अवस्थामा उपचाररत हुनुहुन्छ ।”

सन् १९८८ मा प्रकाशित ‘द स्याटानिक भर्सेज’ नामक कृतिले मुसलमान समुदाय र प्रोफेट मोहम्मदको अपमान गरेको आरोप लगाउँदै तत्कालिन इरानी सर्वोच्च नेता आयातोल्ला रूहोल्ला खोमेनीले फतवा जारी गरी हत्या गर्ने आदेश दिएका थिए ।

निजी सुरक्षाका कारण आक्रमण हुनसक्ने त्रासका कारण वर्षौंसम्म ‘भूमिगत’ जीवन बिताउँदै आएका सलमान रूश्दी र उनका सहयोगीमाथि शुक्रबार न्यूयोर्कमा आक्रमण भएको थियो ।

आक्रमण पश्चात हेलिकोप्टरमार्फत अस्पताल पुरयाइएका विश्व प्रसिद्ध साहित्यकार रूश्दीलाई अस्पताल लगी आकस्मिक शल्यक्रिया गरिएको छ । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी अहिले बोल्न सक्ने अवस्था छैनन् र उनको एउटा आँखाको ज्योति गुम्न पनि सक्ने देखिएको छ ।

उक्त साहित्यिक कार्यक्रममा भाग लिइरहेका अमेरिकी विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कार्ल लेभानले एएफपीलाई बताएअनुसार आक्रमणकारीले रूश्दी बसेको मञ्चमा पुगी पटक–पटक र निर्मम तरिकाले छुरा प्रहार गरेका थिए ।

कार्यक्रममा उपस्थित एक सैनिकले आक्रमणकारीलाई पक्राउ गर्नुअघि कैयौँ मानिस दौडेर स्टेजमा पुगेर आक्रमणकारीलाई भुइँमा लडाएका थिए । श्रोताहरूमध्येकै एक चिकित्सकले उहाँको प्राथमिक उपचारमा सघाएका थिए ।

न्यूयोर्क राज्यको प्रहरीले आक्रमणकारी न्यूजर्सीको फेयरफिल्डका २४ वर्षीय हादी मटर भएको र उनले रूश्दीको घाँटी र पेटमा छुरा प्रहार गरेको जनाएको छ ।

छुरा प्रहारको कारण भने खुल्न सकेको छैन ।

स्टेजमा रूश्दीको अन्तवार्ता लिइरहेका ७३ वर्षीय राल्फ हेनरी रीजको अनुहारमा पनि चोट लागेको थियो तर उनलाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

बफेलो शहरबाट ७० माइल (११० किलोमिटर) दक्षिणमा रहेको शान्त लेकसाइड समुदायमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने चौताउक्वा इन्स्टिच्यूटमा आक्रमण भएको हो ।

चौटौक्वा इन्स्टिच्यूटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीमध्ये धेरैले आज जे देखेका छौं, त्यो घृणाको हिंसात्मक अभिव्यक्ति हो जसले हामीलाई तर्साएको छ ।”

चाउटाउक्वाका नियमित सहभागी सदस्य लेभानले भने, ‘शंकास्पद व्यक्तिले रूश्दीलाई मार्न खोज्नुभन्दा पहिले उनलाई सकेसम्म धेरै पटक छुरा हान्ने कोशिस गरिरहेका थिए ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू