शुक्रबार, वैशाख ७, २०८१
04:50 | ०९:३५

शनि मन्त्र लिएर आए गायक शिशिर (भिडियो सहित)

नेपाली लिङ्क अगस्ट १३, २०२२


काठमाडौँ – आफ्नो मधुर स्वरका कारण श्रोतादर्शकका मनमा बस्न सफल गायक शिशिर योगी केही फरकपन दिन केही न केही गरिरहने साधक हुन् । दर्शक श्रोतालाई हरदम फरकपनको अनुभूति दिलाउन खोज्नु नै उनको मूलभूत विशेषता हो ।

पछिल्लो समयमा अध्यात्म र भक्तिसङ्गीततर्फ उनको ध्यान खिचिएको छ । शिशिरले गाएका ‘मानिस खोजिरहेछु, सारंगी त रेटे पनि, आमाले घाँस काट्दै गर्दा, आमा, बा’ लगायतका गीत सदाबहार बनेर नेपाली सङ्गीत आकाशमा गुन्जिरहेका छन् ।  

राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मर्मभेदी गीत गाउँदै आएका शिशिरले पछिल्लो समयमा भने भक्तिधारा अन्तर्गत पनि वैदिक मन्त्र गायनमा आफ्नो आवाजको जादु पस्केका छन् ।

प्रायः भारतीय कलाकारका स्वरमा भजन र मन्त्र सुन्न अभ्यस्त नेपाली श्रोता दर्शकलाई शिशिरको स्वरले नेपालीपनको मिठास दिएको छ । भारतमा भक्तिसङ्गीतको विधा निकै फराकिलो छ । त्यहाँ भक्ति सङ्गीत मूलधारको सङ्गीत जस्तै उर्वर छ । हाम्रोमा पनि भक्तिसङ्गीतलाई फरक उचाइमा लैजान शिशिर दत्तचित्त भई लागिपरेका छन् । 

भक्तिसङ्गीतको यस चरणमा गणेश  वन्दना, गायत्री मन्त्र र पौराणिक शनि मन्त्र केही हप्ता अघि सार्वजनिक भइसकेका छन् ।  

शनिबार (१३ अगष्ट)  वैदिक, तान्त्रिक, बीज र गायत्री मन्त्रको सम्मिश्रण भएको शनि मन्त्र सार्वजनिक गरिएको छ । यस गायत्री मन्त्रमा पनि शिशिरले आफै सङ्गीत भरेका छन् भने उनलाई आवाजमा सलिना बिक र उनकै सुपुत्री श्रुति योगीले साथ दिएका छन् । 

नोर्बु शेर्पाले सबै मन्त्रमा सङ्गीत संयोजन गरेका छन् भने ध्वनि सम्पादनको काम प्रकाश मिश्रले गरेका हुन् । दृश्य सम्पादन वीरेन्द्र भाट ‘विपीन’ ले गरेका छन् । 

सुझाव, सल्लाह र शब्द सम्पादनको कार्य भने बासुदेव कृष्ण शास्त्रीले गरेका छन् । रेकर्डिस्टका रुपमा अजय कार्की छन् । 

शिशिरले मेहेनेत गरेको यस गीतले पनि मनभित्र सुटुक्क पसेर आत्मामा करुण स्पर्श गर्छ । 

यो लिंकमा गएर शिशिरले गाएको शनि मन्त्र सुन्न सकिन्छ:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू