बिहीबार, वैशाख १३, २०८१
01:18 | ०६:०३

सात महिनामा तीन लाख विदेशी पर्यटकको आगमन   

रासस अगस्ट ४, २०२२

त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा विदेशी पर्यटक । तस्वीर- चन्द्रकला क्षेत्री, रासस

काठमाडौं । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बंगलादेशबाट एक हजार आठ सय ७४ पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट एक हजार पाँच सय ९३ पर्यटक नेपाल आएका छन् । समग्रमा एसिया र अन्य मुलुकबाट चार हजार एक सय ९५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसैगरी युरोपबाट नौ हजार एक सय २१, मध्यपूर्वलगायत मुलुकबाट तीन हजार सात सय ३५ र अमेरिकाबाट पाँच हजार दुई सय २८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

कुन महिनामा कति पर्यटक भित्रिए ?

बोर्डका अनुसार जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार छ सय आठ, जुनमा ४६ हजार नौ सय ५७ र जुलाईमा ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डले छिमेकी मुलुक भारत, बङ्गलादेशसहित एसिया, मध्यपूर्वी एसियाका स्रोतबजारमा प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको जनाएको छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटनका लागि अफसिजन रहे पनि पर्यटक आगमन सकारात्मकरूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको संकेत गरेको बताए ।

उनले पर्यटक बढोत्तरीमा भारत, बंगलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे ।

निर्देशक लामिछानेले पछिल्लो समय भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा एसिया र युरोपियनलगायत मुलुकबाट पर्यटक आगमन बढेको जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू