बिहीबार, वैशाख २०, २०८१
14:26 | १९:११

चीनको चेतावनीबीच अमेरिकी सभामुखको ताइवान भ्रमण

रासस/एपी अगस्ट ३, २०२२

ताइपेई, १८ साउन–अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आएकी उनले ताइवानी नेताहरूसँग आज भएको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताइन् ।

राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरंकुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभरि लोकतन्त्रको प्रवर्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरिन् । अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने पेलोसी उच्च अमेरिकी अधिकारी हुन् ।

राष्ट्रपति साईले सभामुख पेलोसीले ताइवान भ्रमण गरेकामा आभार व्यक्त गरिन् । उनले सभामुख पेलोसी ताइपइमा अवतरण गरेपछि मुख्यभूमि चीनबाट भएका सैन्य अभ्यास अनावश्यक प्रतिक्रिया भएका टिप्पणी गरिन् ।

कम्युनिस्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छ भने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताएको छ ।

अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले बेइजिङलाई चीन सरकारको रूपमा मान्यता पनि दिएको छ । साथै ताइवानसँग अनौपचारिक रक्षा सम्बन्ध र अन्य अमेरिकाले कायम नै राखेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू