शुक्रबार, जेठ ४, २०८१
04:33 | ०९:१८

यूरोपको झन्डै आधा क्षेत्र खडेरीको ‘जोखिममा’

रासस/एएफपी जुलाइ १८, २०२२

दक्षिण पश्चिम फ्रान्सको लुच्याट्स जंगलमा लागेको डढेंलो निभाउंदै अग्नी नियन्त्रक । तस्बिर- एएफपी

ब्रसेल्स, २ साउन –दक्षिण पश्चिम यूरोपमा उग्र गर्मीको लहरसँगै हाल यूरोपेली संघ (ईयू) को झण्डै आधा भू–भाग खडेरीको जोखिममा परेको यूरोपेली आयोगका अनुसन्धानकर्ताहरूले सोमबार चेतावनी दिएका छन् ।

यूरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ईयूको ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको बताइएको हो ।

ईयूको ११ प्रतिशत भू–भागमा खडेरीका कारण विशेष सतर्कता अपनाउनु पर्ने अवस्था छ भने यहाँका खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली प्रभावित बनिसकेको छ ।

खडेरीको सबैभन्दा बढी प्रभाब इटाली र यहाँको पनि सबैभन्दा बढी प्रभावित उत्तरमा रहेको ‘पो रिभर बेसिन’ ले खडेरीको उच्चतम स्तर सामना गरिरहेको रिपोर्टमा उल्लेख छ ।

स्पेनमा हाल १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको र जलाशयको मात्रा अन्य बर्षको यो समयको तुलनामा ३१ प्रतिशतले घटेको उक्त रिपोर्टमा उल्लेख छ । त्यस्तै, पोर्चुगलमा जलविद्युत ऊर्जा उत्पादन गर्ने पानी गत सात वर्षको औसतभन्दा आधा कम छ ।

यूरोपेली मौसमविज्ञहरूले पानीको अभाव र तीव्र तापले गर्दा फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटालीमा बालीको उत्पादन कम हुने चेतावनी दिए ।

ईयूको मौसम पूर्वानुमान शाखाले पनि यस पहिले नै खडेरीको पूर्वानुमान गरेको छ । शाखाले ‘अत्यन्तै गम्भीर स्थिति’ को सामना गर्नुपर्ने र कृषि, ऊर्जा र पानीको आपूर्तिमा पर्ने प्रभावलाई झनै चर्काउने जनाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू