मंगलबार, जेठ १, २०८१
17:25 | २२:१०

बेलायतको भावी प्रधानमन्त्रीमा सुनाक र मोर्डन्टबीच प्रतिस्पर्धा

नेपाली लिङ्क जुलाइ १५, २०२२

लन्डन -बेलायतको भावी प्रधानमन्त्रीको प्रतिष्पर्धामा उत्रिएका कन्जरभेटिभ पार्टीका ८ सांसदमध्ये दोस्रो चरणसम्मको मतदान सकिँदा ३ जना बाहिरिएका छन् ।

बिहीबार दोस्रो चरणको मतदानबाट पूर्वब्यारिस्टर तथा एटोर्नी जनरल सुएला ब्रेभरम्यान बाहिरिएकी हुन् ।

निवर्तमान अर्थमन्त्री ऋषि सुनाकले सबैभन्दा बढी १०१ मत पाएका छन् । पेनी मोर्डन्टले ८३ मत पाउँदा लिज ट्रसले ६४, केमी ब्याडेनोकले ४९ र टम टुगेन्डहटले ३२ मत प्राप्त गरेका नेता छनोट गर्ने पार्टीको १९२२ कमिटीका अध्यक्ष सर ग्राहम ब्राडीले जनाएका छन् ।

यसअघि पहिलो चरणको मतदानमा पनि सुनाकले सबैभन्दा बढी ८८ मत पाएका थिए भने मोर्डन्टले ६७ मत ल्याएकी थिइन् ।

बुधबार भएको पहिलो चरणको मतदानमा दलका सांसदहरूको कम्तीमा ३० मत प्राप्त गर्ने ६ जना दोस्रो चरणको प्रतिस्पर्धाका लागि छानिएका थिए ।

३० मतको ‘थ्रेसहोल्ड’ कटाउन नसक्ने नादिम जहावी र जेरेमी हन्ट क्रमशः २५ र १८ मत प्राप्त गर्दै यसअघि नै यो दौडबाट अलग भइसकेका छन् ।

३५८ कन्जरभेटिभ सांसदहरूले अन्तिम २ जना उम्मेदवार रहेसम्म मताधिकार प्रयोग गर्नेछन् । अन्तिम चरणमा २ जनामध्यबोट पार्टीको नेता छान्न मुलुकभरका १ लाख ६० हजारभन्दा बढी पार्टीका सदस्यले मत दिन पाउनेछन् ।

उक्त मतदानबाट विजयी हुने नेता नै बेलायतको नयाँ प्रधानमन्त्री चुनिनेछन् । यो प्रक्रिया सेप्टेम्बर ५ मा सकिने आकलन छ ।

आफ्नै सरकारका सदस्यहरूले राजीनामा दिने लहर चल्नु र विरोधका कारण बोरिस जोन्सनले पद त्याग्ने घोषणा गरेपछि नयाँ प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु भएको हो ।

नयाँ नेतृत्वको दौडमा रहेका उम्मेदवारहरू एकअर्काको पोल खोलाखोलदेखि रणनीति बनाउन व्यस्त छन् ।

हालसम्म अग्रणी स्थानमा रहेका सुनाक सन् २०१५ मा पहिलो पल्ट सांसद भएका थिए । भारतीय मुलका सुनाकको ख्याति कोरोना महामारीको सुरुवातमा अर्थमन्त्री हुँदादेखि बढेको हो ।

दोस्रो विश्वयुद्धपछिकै चुनौतीपूर्ण समय खेपिरहेको बेलायती अर्थतन्त्रलाई उकास्न उनले ‘जसो गरेर पनि जनतालाई मद्दत गर्छु’ भन्दै ३५० अर्ब पाउन्ड बराबरको सहयोग घोषणा गरेका थिए । यसले कैयौंको जागिर जोगिनुका साथै व्यवसाय धरासायी हुनबाट बचेको थियो ।

करिब ७५ करोड पाउन्ड सम्पत्ति भएका सुनाककी श्रीमतीमाथि कर छली गर्न गैरबेलायती करदाता बनेको आरोप लागेको थियो । कानुनविपरीत लकडाउनमा सामूहिक भोजमा सहभागी बनेपछि उनलाई पनि प्रहरीले जरिवाना तिराएको थियो । यसले उनको ख्याति घटेको थियो ।

जलसेनाबाट सेवा थालेकी अन्तर्राष्ट्रिय व्यापारमन्त्री पेनी मोर्डन्ट यसपटक अप्रत्याशित रूपले चर्चामा आएकी छिन् । सन् २०१० देखि सांसद रहेकी उनी ब्रेक्जिटको कट्टर समर्थक थिइन् ।

हालै कन्जरभेटिभ पार्टी सदस्यहरूबीचमा गरिएको मत सर्वेक्षणमा करिब दुई तिहाइले रुचाएपछि उनको लोकप्रियता चुलिएको हो ।

प्रधानमन्त्रीको दौडमा अझै ५ जना रहे पनि मध्यमार्गी नीति अंगीकार गर्ने सुनाक र दक्षिणपन्थी झुकाव राख्ने मोर्डन्टबीच नै अन्तिम प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू