शुक्रबार, जेठ ४, २०८१
06:03 | १०:४८

श्रीलंकाका पूर्व राष्ट्रपति सिंगापुर पुगे

रासस/सिन्ह्वा जुलाइ १४, २०२२

गोटाबाया राजापाक्ष । फाइल तस्बिर एएफपी

सिंगापुर, ३० असार– श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष सिंगापुर आइपुगेका छन् ।

उनलाई निजी भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिंगापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयको अनुमतिमा उनी सिंगापुर आएको मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् ।

साउदी विमानमार्फत् उनी माल्दिभ्सबाट सिङ्गापुर आएको स्थानीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् ।

स्थानीय समयअनुसार बिहीबार बेलुका ७.१७ बजे उनी सिङ्गापुरको चाँगी विमानस्थलमा उत्रिएका हुन् ।

राजापाक्ष शरणार्थीको रूपमा आएको हो वा होइन भन्ने बारेमा कुनै जानकारी नभएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

उनको गन्तव्य सिङ्गापुर नै हो वा फेरि अन्यत्र जाने हो भन्ने बारेमा पनि एकीन नभएको जनाइएको छ ।

आन्दोलनकारीले आफ्नो निवास कब्जा गरेपछि देशभित्रै अन्यत्र लुकेर बसेका राजापाक्ष बुधबार देश छाडेर माल्दिभ्स पुगेका थिए । त्यहाँ उनी एक दिन बसेर सिङ्गापुर आएका हुन् ।

उनले देश छोडेपछि राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई दिइएको छ ।

सभामुख महिन्दा यापा अबेवार्डेनाले आगामी जुलाई २० मा संसदबाट नयाँ राष्ट्रपति चयन गरिने जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू