शुक्रबार, जेठ ४, २०८१
07:11 | ११:५६

एलन मस्कविरुद्ध ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मुद्दा दायर

रासस/एएफपी जुलाइ १३, २०२२

टेस्लाका सीइओ एलोन मस्क । तस्बिर एपी

सान फ्रान्सिस्को, २९ असार-विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कविरूद्ध कानूनी लडाई सुरु गरेको छ । ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा दायर गरेको हो ।

एलन मस्कले ट्वीटरले नक्कली र स्पाम खाताहरूको संख्याबारे जानकारी नदिएको भन्दै अलग्गिने घोषणा गरेपछि उनीविरुद्ध मुद्दा दायर भएको हो । मस्क फोब्र्सको संसारको सबैभन्दा धनी व्यक्तिहरूको सुचीमा २५ औँ स्थानमा सुचिकृत भएका थिए र २०१९ को ‘मस्ट इनोभेटिब लिडर’ मा पहिलो स्थानमा परेका थिए ।

उनलाई ५४ दशमलव २० डलरको हिसाबले प्रतिशेयर सम्झौता पूरा गर्न आदेश दिन माग गरिएको छ । व्यक्तिगत स्वार्थ पूरा गर्न नसकेका कारण मस्कले सम्झौताबाट पछि हटेको भन्दै सम्झौताको नियम उल्लघंन गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्वीटर कम्पनीका अध्यक्ष ब्रेट टेलरले आफ्नो दायित्वप्रति मस्क जिम्मेवार हुनुपर्ने बताएका छन् ।

ट्वीटर सम्झौता भएपछि टेस्ला कम्पनीको शेयरका साथै शेयर बजारमा गिरावट आएको रिटमा आरोप लगाइएको छ । मस्कको सम्पत्ति २०२१ को नोभेम्बरमा १ सय बिलियन डलरको गिरावट आएका कारण यो सम्झौताबाट उनीपछि हट्न खोजेको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू