बुधबार, जेठ २, २०८१
23:11 | ०३:५६

बेलायती प्रधानमन्त्रीको राजनीतिक जीवनमा अप्रत्याशित विराम

नेपाली लिङ्क जुलाइ ८, २०२२

तस्बिर एपी

लन्डन — करिब तीन वर्षअघिको संसदीय चुनावमा स्पष्ट बहुमत ल्याएर बेलायती प्रधानमन्त्री बनेका बोरिस जोन्सनको राजनीतिक जीवनमा अप्रत्याशित विराम लागेको छ ।

सन् २०१९ को आमनिर्वाचनमा आफ्नो दल कन्जरभेटिभ (टोरी) ले स्पष्ट बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका जोन्सन आफ्नै पार्टीभित्र सन्तुलन मिलाउन नसक्दा करिब दुई वर्षअघि नै पदबाट बाहिरिने भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट बिहीबार मध्याह्न पार्टी नेताबाट राजीनामा घोषणा गरेका उनले पार्टीको नयाँ नेता चयन नहुँदासम्म प्रधानमन्त्रीका रूपमा काम निरन्तर राख्ने बताएका छन् । उनको घोषणाअनुसार पनि अब उनी आगामी अक्टोबरसम्म मात्रै पदमा रहनेछन् ।

यद्यपि विपक्षी दल लेबरले जोन्सन प्रधानमन्त्रीको पदमा बस्न ‘राजनीतिक रूपमा अयोग्य रहेको’ दाबी गर्दै संसद्मा अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएको छ । लकडाउन भोज प्रकरण, कर वृद्धि र कार्यशैलीका कारण निकै आलोचित बनेका जोन्सन पछिल्लो समय क्रिस पिन्चर प्रकरणमा मुछिएपछि पद छाड्नुपर्ने दबाबमा परेका हुन् । आफ्नै मन्त्रिपरिषद्का सदस्य र सहयोगीले तीव्र आलोचनासहित एकपछि अर्को गर्दै राजीनामा दिएपछि जोन्सन राजीनामा घोषणा गर्न बाध्य भएका हुन् ।

सन् २०२० जुन २० मा बेलायतमा लकडाउन भएका बेला प्रधानमन्त्री निवासमा पार्टी आयोजना गरेपछि जोन्सनले जरिवाना तिर्नुपरेको थियो । यो घटना सामान्य लागे पनि बेलायतमा प्रधानमन्त्री स्वयंले सरकारी नियम उल्लंघन गर्नु गम्भीर अपराध मानिन्छ । यसर्थ उनको चरित्र र नैतिकतामा प्रश्न उठेको थियो ।

त्यसबाट जेनतेन पद बचाएका जोन्सनले विवादित कन्जरभेटिभ नेताको बचाउ गरेपछि थप विवादमा परे । कन्जरभेटिभ दलका सहायक प्रमुख सचेतक क्रिस पिन्चरले लन्डनको एक क्लबमा रक्सी पियर मातेपछि दुई पुरुषलाई दुर्व्यवहार गरेको हालसालै सार्वजनिक भयो । प्रधानमन्त्री जोन्सनले सुरुमा यसबारे थाहा नपाएको बताए । त्यसपछि बेलायत सरकारका एक जना निजामती कर्मचारीले आफैंले यो कुरा प्रधानमन्त्री जोन्सनलाई सन् २०१९ मा नै बताएको र त्यसपछि मात्रै क्रिस पिन्चरलाई प्रधानमन्त्रीले नियुक्त गरेको सार्वजनिक भयो । बेलायती जनता र देशप्रति जोन्सनको छलकपट सार्वजनिक भएपछि उनले नियुक्त गरेका करिब ५ दर्जन मन्त्रीहरूले राजीनामा दिए ।

क्रिस पिन्चरलाई यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे जानकारी हुँदाहुँदै पनि सहायक प्रमुख सचेतक नियुक्ति गरेको स्विकारोक्तिपछि उनीमाथि राजीनामाको तीव्र दबाब आएको थियो ।

दुई प्रभावशाली मन्त्रीहरू अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिँदै प्रधानमन्त्री जोन्सन नेतृत्वको चर्को आलोचना गरेपछि बिहीबारसम्म ५० भन्दा बढी मन्त्री र सहयोगीले राजीनामा दिइसकेका छन् ।

बेलायती पूर्वविदेशमन्त्रीका सल्लाहकार प्राध्यापक सूर्यप्रसाद सुवेदीले बृहत् बौद्धिक क्षमता भएपनि बोरिस जोन्सनले कैयौंपटक विवादित काम गरेर पद गुमाएको बताए । 

बहिर्गमन भाषणमा जोन्सनले आफ्नो कार्यकाल उपलब्धिमूलक भएको दाबी गरेका छन् । ब्रेक्जिट पार लगाउन, यूकेलाई कोभिड महामारीबाट मुक्त बनाउन र पुटिनको युक्रेन युद्धविरुद्ध पश्चिमा देशको नेतृत्व गर्नुलाई उनले महत्त्वपूर्ण उपलब्धि मानेका छन् । उनले केही क्षण अँध्यारो भए पनि बेलायतको भविष्य सुनौलो रहेको जिकिर गरे । आफ्नो प्रधानमन्त्रीकालमा सहयोग गर्ने आफ्नो कार्यालय र निजामती कर्मचारी, सेना, प्रहरी, कन्जरभेटिभ सदस्यहरू, एनएचएस सबैलाई जोन्सनले धन्यवाद दिएका छन् । 

आलोचकहरू भने जोन्सनलाई अडानमा टिक्न नसक्ने अनियन्त्रित मनस्थिति तथा निष्ठा, क्षमता र दृष्टिकोणको कमी भएको व्यक्ति पनि भन्ने गर्छन् । उनीमाथि देश र जनतालाई कैयौं पटक ढाँटेको आरोप पनि छ ।

बेलायतको प्रमुख प्रतिपक्षी लेबर पार्टीका तर्फबाट अघिल्लो निर्वाचनमा सांसद प्रत्याशी डा. बच्चु कैलाश कैनी बेलायती जनजीवनमा नैतिकता, इमानदारिता र सदाचारितालाई निकै उच्च स्थानमा राखिने बताउँछन् । ‘त्यसमाथि पनि राजनीति गर्ने व्यक्तिले माथिका तीन कुरामा कमी गर्नु वा सम्झौता गर्नु देश र जनताप्रति गद्दारी गर्नु मानिन्छ । यस पटक बेलायती प्रधानमन्त्रीको सदाचारिता, नैतिकता र इमानदारितामा ठूलो प्रश्न उठेको हुनाले उनले राजीनामा दिनुपरेको प्रस्ट छ,’ उनले भने, ‘बेलायतको खस्कँदो अर्थतन्त्र र जनतामा बढ्दो करको भार पनि प्रधानमन्त्री जोन्सनको राजीनामाका कारक बने ।’

बेलायतमा राजनीतिक नेतृत्वको परीक्षण सुशासन, अर्थतन्त्रको अवस्था, रोजगारी, स्वास्थ्य र शिक्षाजस्ता जनजीविकासँग सम्बन्धित क्षेत्रको व्यवस्थापन र सुधार कसरी भइरहेको छ भन्ने कुराले निर्धारण गर्ने कैनीको भनाइ छ । ‘जनताबीच प्रधानमन्त्री कतिको लोकप्रिय छ भन्ने कुराले पनि सरकारको कामकारबाहीको मूल्यांकन हुन्छ । संसद्मा आफ्नै दल र विपक्षी दलका सांसदले सरकार र प्रधानमन्त्रीको कामको खबरदारी गरेका हुन्छन् । सरकारले राम्रो काम गर्न सकेन भने आफ्नै दलका सांसदले पनि विरोध गर्छन्,’ उनले भने ।

जोन्सनले गत महिना मात्र सत्तारूढ सांसदहरूको बहुमतसहित विश्वासको मत प्राप्त गरेका थिए । ५९ प्रतिशत सांसदको समर्थन पाएसँगै उनी एक वर्षका लागि कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएर प्रधानमन्त्री पद जोगिएको थियो ।

पूर्वविदेशमन्त्रीसमेत रहेका जोन्सन ब्रेक्जिट अभियानमा खुलेर लागेका थिए । उनी सन् २००८ देखि ०१६ सम्म लन्डन मेयर बनेका थिए । करिब ६६ मिलियन जनसंख्या रहेको बेलायतको नयाँ प्रधानमन्त्री हुँदा जोन्सनलाई ईयू छाड्ने (ब्रेक्जिट) मुद्दा पार लगाउने मुख्य चुनौती थियो ।

को बन्ला नयाँ प्रधानमन्त्री ?

जोन्सनको राजीनामासँगै अब उनको उत्तराधिकारी को हुने भन्ने अड्कलबाजी पनि सुरु भएको छ । पार्टी नेता नै प्रधानमन्त्री चुनिने भएकाले निवर्तमान मन्त्रीहरू ऋषि सुनाक, साजिद जाविद, लिज ट्रस, माइकल गोभ, प्रीति पटेल, डोमिनिक राब, स्टिभ बारक्ले, नदिम जहावी, जेरेमी हन्ट, वेन वालेस, स्युला ब्रेभर म्यान, पेनी मोर्डन्त आदिको नाम चर्चामा रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । १९२२ ब्याकबेन्चर कमिटीले नयाँ कन्जरभेटिभ पार्टी नेता चुन्न समय तालिका निर्धारण गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू