बुधबार, जेठ २, २०८१
00:10 | ०४:५५

गोर्खा वार्ताः आफूहरुबिनै अघि बढे मान्य नहुने गोर्खाहरुको चेतावनी

नेपाली लिङ्क जुलाइ ६, २०२२

लन्डन- गोर्खा मुद्धामा बेलायत र नेपाल सरकारबीच आसन्न वार्ताको तयारीका क्रममा समेत गोर्खाहरुको प्रातिनिधित्व गराउन भूतपूर्व गोर्खाहरुले माग गरेका छन् ।

नेपाल सरकारका तर्फबाट गोर्खा वार्ताका लागि संयोजक बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्रसँग बुधबार दूतावासमा भएको छलफलमा विभिन्न गोर्खा संस्थाका प्रतिनिधिहरुले वार्ताको ‘टर्म्स अफ रिफरेन्स’ (टिओआर) तयारीमा पनि उनीहरुको सहभागिता सुनिश्चित गर्न माग गरेका हुन्।

गोर्खा वार्ताका लागि पूर्व गोर्खाहरुको तर्फबाट प्रतिनिधि तोकिएका मेजर जुद्धबहादुर गुरुङलाई पनि टिओआर निर्माणका लागि बस्ने बेलायत र नेपाल सरकारका अधिकारीबीचको बैठकमा सहभागी गराइनुपर्ने माग गोर्खाहरुको छ। अन्यथा गोर्खा प्रतिनिधिको सहभागिता बन्ने टिओआर आफूहरुलाई मान्य नहुने चेतावनी पनि उनीहरुले दिएका छन्।

गोर्खा माग सम्बोधन गर्न राजदूत आचार्यले बेलायती पक्षसँग छलफल गर्ने आश्वासन दिएका छन्। उनले वार्ताको टिओआर तयार पार्न यही जुलाइभित्रै बैठक बस्न बेलायत तयार रहेको जानकारी गराएका छन्।

टिओआर निर्माणपछि वार्ताको मिति तय गरिने भन्दै राजदूत आचार्यले मध्य सेप्टेम्बरसम्म पहिलो चरणको वार्ता शुरु गर्न बेलायत राजी रहेको उल्लेख गरेका मेजर जुद्धबहादुर गुरुङले जानकारी दिए ।

गोर्खाहरुले भने टिओआर तयारीका लागि तत्काल बैठक तय गर्न र सोही बैठकबाट वार्ताको मिति टुंगो लगाउन राजदूतसँग माग राखेका छन्।

बेलायती राजनीतिमा पछिल्लो समय उत्पन्न अस्थिरताको प्रसंगमा राजदूत आचार्यले बेलायत वा नेपाल कुनै देशको सरकार परिवर्तन भएकै अवस्थामा पनि गोर्खा वार्ता बिनाअवरोध अघि बढ्ने विश्वास दिलाएका छन्।

छलफलमा सहभागी गेसो कार्यवाहक सभापति धर्म तामाङले वार्ताको तयारीको क्रममा भएका प्रगतिबारे राजदूतबाट अपडेटहरु लिइएको बताए। वार्ताको मोडालिटी बनाउँदा समेत गोर्खा प्रतिनिधिको सहभागिता सुनिश्चित हुनुपर्ने आवाज आफूहरुले स्पष्ट राखेको उनको भनाइ छ ।

त्यस्तै, वार्तामा गोर्खाहरुको प्रतिनिधित्व गर्ने तीनै जना प्रतिनिधि तत्काल टुंगो लगाउन पनि माग गरेको उनले बताए ।

बेलायत सरकारले वार्ता प्रक्रिया अगाडि बढाउन विलम्ब गरेको भन्दै भूतपूर्व गोर्खाहरुले आशंका 
व्यक्त गर्दै आएका छन् । तर, लन्डनस्थित नेपाल दूतावासकी उपनियोग प्रमुख रोशन खनालले बेलायतले सेप्टेम्बरसम्म वार्ता हुन्छ भनेकाले प्रतिक्षा गर्न आग्रह गरिन् । ‘उहांहरु (गोर्खा) ले शंका गर्न आवश्यक छैन्’, खनालले भनिन्, ‘नेपाल सरकारले पनि यसबारे झकझकाइरहेको छ । वार्ता हुन्छ सकारात्मक भएर बस्नु होला ।’

उपनियोग प्रमुख खनालले आन्दोलन गरे पनि वार्ता नै समस्या समाधानको अन्तिम विकल्प भएकाले भूतपूर्व गोर्खाहरुलाई आन्दोलनको मानसिकता नलिन अनुरोध गरेकी छन् ।

१० जना सम्मिलित प्रतिनिधिमण्डलमा मेजर रिटायर्ड जुद्धबहादुर गुरुङ, टक बहादुर गुरुङ, लक्ष्मी घिसिङ, ज्ञानराज राई, धनबहादुर गुरुङ, पुष्पा राना घले, धर्म तामाङ, मेजर रि. टिकेन्द्रदल देवान, मेजर (रि) उदयबहादुर गुरुङ एमबीइ र केशबहादुर गुरुङ सहभागी थिए ।

दूतावासका तर्फबाट राजदूत आचार्य, उपनियोग प्रमुख खनाल र सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू