बिहीबार, चैत १५, २०८०
15:53 | २१:३८

वामदेव गौतमले खोले नयाँ पार्टी

रासस जुन २८, २०२२

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको आधिकारिक धारणाको वारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संयोजक वामदेव गौतम । तस्वीर-प्रदीपराज वन्त, रासस

काठमाडौं । नेकपा (एमाले) का पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक नयाँ पार्टीको घोषणा गरेका छन् ।

यहाँ आज आयोजित कार्यक्रममा उनले नेपालका कम्युनिष्ट पार्टीलाई एकताबद्धरुपमा लैजानका लागि नयाँ पार्टीको घोषणा गरेको बताए ।

नेता गौतमले आगामी निर्वाचनसम्म ठूला कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नका लागि आफूले नयाँ पार्टी गठन गरेको उल्लेख गरे ।

“नेपालका कम्युनिष्ट फुट्दा अरुले नै फाइदा लिए” उनले भने, “अब मेरो नेतृत्वमा नेपालका कम्युनिष्टलाई एकताबद्ध बनाउँछु ।”

आफ्नो पार्टीले कम्युनिष्टलाई एकताबद्ध बनाएर पार्टी सञ्चालन गर्ने नेता गौतमको भनाइ थियो ।

पार्टी एकीकरण गर्ने विषयलाई जुन कम्युनिष्ट पार्टीले सम्मान गर्छ त्यहीसँग एकता गर्ने उनले बताए । कम्युनिष्ट पार्टी एकताका लागि तीन महिने अभियान सञ्चालन गर्ने गौतमले जानकारी दिए ।

“हाम्रो पार्टीको मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पुनर्गठन गर्नु हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई कार्यगत एकतामा ल्याउन वातावरण निर्माण गर्नु अर्को उद्देश्य हो”, उनले भने ।

नेपालका कम्युनिष्ट पार्टी ४६ पटक पुनर्गठन भएका र त्यसमा आफू नै संलग्न भएको नेता गौतम भनाइ थियो । नयाँ पठन भएको सो पार्टीको अध्यक्षमा गौतम छन् । पार्टी बहुपदीय प्रणालीमा हुने छ । एक अध्यक्ष, प्रत्येक प्रदेशमा इञ्चार्जको जिम्मेवारी बहन गर्ने गरी सात उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिएको छ ।

पार्टीको ७५ सदस्यीय कमिटी, १५ जना नबढ्ने गरी स्थायी कमिटीको व्यवस्था गरिएको केन्द्रीय सचिवालयका सचिव डिवी कार्कीले जानकारी दिए । गौतमको संयोजत्वमा आठ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । उक्त सचिवालयमा सचिव कार्की तथा सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू