बिहीबार, चैत १५, २०८०
16:01 | २१:४६

वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा छलफल

नेपाली लिङ्क जुन २२, २०२२

काठमाडौं । गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा छलफल भएको छ ।

संघको सचिवालयमा बुधबार भएको छलफल कार्यक्रममा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशकद्वय कृष्ण अधिकारी र रोहित रेग्मी सहभागी थिए । 

एनआरएनए सचिवालय हलमा आयोजित छलफलमा भौतिक एवं जुम मार्फत एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाएका थिए ।

गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी, उपाध्यक्ष महेश कुमार श्रेष्ठ, उपाध्यक्ष डिबी क्षेत्री, यूवा उपाध्यक्ष राज रेग्मी, उप–महासचिव देवी बस्नेत, सचिव गंगाधर गौतम, कोषाध्यक्षद्वय लोक दाहाल र फणिन्द्र पन्त, यूरोप संयोजक चिन्तामणी सापकोटा लगायतका पदाधिकारीहरू, विभिन्न मुलुकका आइसीसी तथा एनसीसी प्रतिनिधि तथा गैरआवासीय नेपालीहरुको सहभागिता थियो ।

विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य शुरु भइसकेको जानकारी दिदै कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले एनआरएनएसँगको सहकार्यमा कोषले छिट्टै कार्यविधि बनाएर लागू गर्ने बताए । उनले वैदेशिक रोजगारमा जानेलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिने बेलामा नै समेट्न सकिने बताए ।

कोषका निर्देशक कृष्ण अधिकारीले विदेशमा रहेका नेपालीलाई कोषमा समेट्नका लागि कोषले ’प्यासन’ को रूपमा लिएर अगाडि बढेकाले एनआरएनएले साथ दिएमा चाँडै लागू हुने बताए । 

कर्मचारी संचय कोषका पूर्व प्रशासक कृष्ण आचार्यले कानूनी अड्चनलाई हटाएर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न आग्रह गरे ।

वैदेशिक रोजगार तथा कल्याणकारी विभागका सभापति एवं संघका उपाध्यक्ष डिबी क्षेत्रीले बैदेशिक रोजगारमा जाने नेपालीहरुलाई अनिवार्यरुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिंदा र श्रम सम्झौता गर्दा अनिवार्य सामाजिक सुरक्षा कोषमा जोड्ने शर्त राख्नु पर्ने बताए । 

उपाध्यक्ष क्षेत्रीले वैदेशिक रोजगारमा रहेका नेपालीको भावनात्मक सम्बन्ध जोडिएको सामाजिक सुरक्षा योजनाको अभियान शुरुवातदेखि अहिलेसम्मको अवस्थामा आउनु सकारात्मक रहेको धारणा राखे । 

सरकारले आर्थिक बर्षको बजेटमा नै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने गरी कार्यक्रम ल्याउनु सकारात्मक भएको सहभागीले औल्याएका छन् ।

एनआरएनएले आफ्नो १० औं विश्व सम्मेलन तथा असार २ गते सेमिनार आयोजना गरेर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सरोकारवाला बीच छलफल चलाएको थियो ।

संघका अध्यक्ष बद्री केसीले सामाजिक सुरक्षा सम्बन्धि संघको धारणा प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि कार्यबिधि तयार पारेर गैरआवासीय नेपाली संघ र सामजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर गरेर अगाडि बढ्नु पर्ने बताए ।

एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यले चाँडै संघ र कोषबीच सामाजिक सुरक्षामा समेट्नका लागि दुई पक्षिय समझदारी गरिने जानकारी दिए । 

समझदारी पत्र तयारका लागि संघका तर्फबाट उपाध्यक्ष डिबी क्षेत्री र कोषका तर्फबाट निर्देशक कृष्ण अधिकारीलाई जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू