बिहीबार, वैशाख १३, २०८१
10:16 | १५:०१

गोर्खा सैनिकहरुको कथा चलचित्र पर्दामा, यूके प्रिमियर अगष्ट २७ लाई तय

नेपाली लिङ्क जुन १९, २०२२

लन्डन । गोर्खा सैनिकहरुको कथा पस्कने नेपाली कथानक चलचित्र ‘सोल अफ द कमाण्डो’ बेलायतमा प्रदर्शन गरिने भएको छ । यूके प्रिमियर शो आउंदो अगष्ट २७ मा अल्डरसटस्थित प्रिन्सेस हलमा हुनेछ ।

आइतबार फिल्म शोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल चलचित्र कलाकार संघ यूके (फान) की अध्यक्ष रोमियन लिम्बुले बेलायत नेपाल सम्बन्धका आधारस्तम्भ गोर्खा सैनिकको इतिहास, वीरता र योगदानबारे जानकारी दिइन् ।

‘उक्त चलचित्रमा राष्ट्रप्रेम र गोर्खा इतिहास छ’, रोमियनले भनिन्, ‘बेलायतस्थित नेपाली चलचित्रप्रेमी दर्शक र विशेषगरि गोर्खा परिवारहरुलाई फिल्म नछुटाउन मेरो आग्रह छ ।’ २० पाउण्ड टिकट मुल्य राखिएको उक्त प्रिमियर शोको केही रकम च्यारिटीमा खर्चने रोमियनले बताइन् ।

‘सोल अफ द कमाण्डो’ चलचित्रमा पूर्व गोर्खा सैनिक राजकुमार राईको प्रमुख भूमिका छ । झण्डै २६ वर्ष बेलायती सेनामा काम गरेका राई अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी र प्रशिक्षक समेत हुन् ।

तेक्वान्दोबाट थुप्रै राष्ट्रिय-अन्तराष्ट्रिय अवार्ड जितेका राई क्यानडा बस्छन् ।

युवराज राई (वीरबहादुर) द्वारा निर्देशित उक्त चलचित्रमा राजकुमारसहित कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, शिशिर बाङ्देल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, संगीता लावतीलगायतको मुख्य अभिनय छ ।

विजया राईको प्रस्तुति रहेको उक्त चलचित्रको कार्यकारी निर्माता हुन् मिलन राई, रवि थापा र धनबहादुर लिम्बु ।

पत्रकार सम्मेलनमा काउन्सिलर प्रवेश केसी, नेपाली चलचित्र अभिनेता विनोद मानन्धर, कलाकार तथा सञ्चारकर्मीहरु सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू