शुक्रबार, वैशाख २१, २०८१
12:39 | १७:२४

यूक्रेनको मारिऊपोलमा हैजा महामारीको जोखिम

रासस/एएफपी जुन ११, २०२२

युद्धको चपेटामा मारिऊपोल । तस्बिर एएफपी

कीभ, यूक्रेन, २८ जेठ-हप्तौँको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा हैजा फैलिने जोखिम देखिएको छ । यो सहर अहिले रुसी नियन्त्रणमा छ ।

सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । हैजा साधरणतया दूषित पानी वा खानेकुरा सेवन गर्दा सर्छ । सरसफाइसँग यसको नजिकको सम्बन्ध छ ।

मारिऊपोलमा छरिएका शव र फोहोरका कारण अस्वस्थ वातावरण छ । यसअघि पनि मारिऊपोलमा संक्रमण देखिएको थियो । विगतका महिनामा केही मानिसमा हैजा पुष्टि पनि भएको थियो ।

यो सहरमा यूक्रेनले नियुक्त गरेका नगरप्रमुख भोडिम बोएचेन्कोले ‘हैजा, झाडापखाला र अरू संक्रामक रोगहरू सहरमा देखा परिसकेको’ बताए । उनले ठूलो स्तरको महामारी नियन्त्रण गर्ने उद्देश्यले सहरलाई बन्द गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

यद्यपि सहर रूसी सेनाको कब्जामा रहेकाले यसको स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।

रूसले नियुक्त गरेका नगरप्रमुखले भने नियमित रूपमा परीक्षणहरू गर्ने गरिएको भन्दै हैजाका बिरामी फेला नपरेको दावी गरेका छन् ।

युक्रेनको स्वास्थ्य मन्त्रालयले मारिऊपोलबाट आफूले सीमित सूचना प्राप्त गरिरहेको जनाउँदै यूक्रेनको नियन्त्रणमा रहेका भूभागमा परीक्षण गरेको र कुनै पनि घटना फेला नपरेको जनाएको छ । युद्धका कारण मारिऊपोलको पिउने पानी प्रणालीमा पनि क्षति पुगेको छ ।

यसै हप्ताको सुरुमा संयुक्त राष्ट्रसङ्घले पानीसँग ढल मिसिएको भन्दै त्यसबाट हैजाको जोखिम रहेको बताएको थियो ।

रेडक्रसले सरसफाइसँग सम्बन्धित पूर्वाधारमा क्षति पुग्दा त्यसले पानीबाट सर्ने रोगहरूको संक्रमण फैलिने जोखिम देखिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू