शनिबार, वैशाख ८, २०८१
17:14 | २१:५९

एक वडाको मतगणना गर्न ४० घण्टा

रासस मे १५, २०२२

काठमाडौँ, १ जेठ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ ।

वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात २ बजेदेखि नगरको १ नं वडाको मतगणना सुरु भएको थियो ।

शुक्रबार रातिदेखि गणना सुरु भएको १ नं वडाको मतगणना अझै सकिएको छैन । हालसम्म वडा नं १ को दुई हजार ४२४ मतगणना भएको नगर निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिइन् । यस वडाको मतगणना सुरु भएको ३२ घण्टा पूरा भइसकेको छ ।

वडा नं १ मा तीन हजार १०० मत खसेको छ । बाँकी ७०० मतगणना गर्न आज बेलुकीसम्म लाग्ने अधिकृत राउतले सुनाइन् ।

निर्वाचन अधिकृतको कार्यालयमा स्थान अभावका कारण धेरै मतगणना गर्न सकिने अवस्था छैन । हाल ९ नं वडाको पनि मतगणना भइरहेको छ । यहाँ दुई वटा वडाको मात्र मतगणना गर्न सकिने हल छ ।

आज दिउँसोको खानापछि अर्को स्थानमा मतगणनाका लागि थप गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

वडा नं ९ को भने करिब एक हजार ७०० मतगणना भएको छ । नगरको वडा नं ९ मा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवारले अग्रता लिएका छन् ।

वडा नं १ मा भने अहिले थोरै मतान्तरले नेकपा (एमाले) ले अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना भइरहेको दुवै वडाको वडाध्यक्ष पदमा भने एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

नगरपालिकामा नौ वटा वडा छन् । नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा (एमाले) विजयी भएको थियो । सो निर्वाचनमा एमाले छ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो ।

एमालेबाट विजयी नगर प्रमुख कृष्णहरि थापा हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् । उनी यो निर्वाचनमा पनि समाजवादीबाट नगर प्रमुख पदमा प्रतिस्पर्धा गरिरहेका छन् ।

मतगणनाको प्रारम्भिक परिणाम अनुसार उनी तेस्रो स्थानमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू