शनिबार, वैशाख १५, २०८१
19:58 | ००:४३

बेलायत भ्रमणमा सांसद खातुनको अनुभव-गोर्खा मुद्धामा ब्रिटिश सांसदहरु पनि सकारात्मक

सांसद खातुनलाई तनहुँ जिल्ला समाज यूकेको स्वागत

नेपाली लिङ्क मार्च १९, २०२२

लन्डन । बेलायत भ्रमणमा आएकी सांसद कलिला खातुनलाई तनहुँ जिल्ला समाज यूकेले स्वागत गरेको छ।  

शनिबार साँझ अल्डरसटको प्यालेस हलमा एक कार्यक्रमबीच सांसद खातुनलाई स्वागत गर्दै अन्तरक्रिया पनि गरियो।  

समाजको कार्यसमितिका पदाधिकारी एवम् सल्लाहकारहरुको उपस्थितिमा अध्यक्ष लेख गुरुङले खादा ओढाएर सांसद खातुनलाई  बेलायतमा स्वागत गरेका थिए। उनले समाजको तर्फबाट मायाको चिनो समेत उनलाई प्रदान गरे। 

कार्यक्रममा मन्तव्य राख्दै सांसद खातुनले बेलायतमा आफ्नो जिल्लावासीको तर्फबाट प्राप्त न्यानो सत्कारका लागि धन्यवाद दिइन्।बेलायती संसदको निमन्त्रणामा आफूले गरेको बेलायतको संसदीय भ्रमण उपलब्धिमुलक बनेको अनुभव उनले सुनाइन्।  

बेलायती सांसदहरुसंगको भेटमा दुई देशीय चासोका विविध विषयहरुमा छलफल भएको भन्दै सांसद खातुनले गोर्खाको मुद्धा आफूले विशेष चासोसहित उठाएको जानकारी गराइन्। गोर्खाहरुको सम्बन्धमा बेलायती सांसदहरुलाई पनि सकारात्मक पाएको उनको भनाइ थियो। 

गोर्खाहरुको समस्या समाधानका लागि नेपालको राजनीतिक तहमा आवश्यक भूमिकाको लागि पनि उनले आश्वासन दिइन्।

सांसद खातुनको स्वागत कार्यक्रममा रश्मोर बरो काउन्सिलर नेम थापा, मेजर कुलबहादुर थापा, मेजर लोक गुरुङ, लेख रानासहित समाजका सल्लाहकार तथा पदाधिकारीहरुको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन समाजका महासचिव क्याप्टेन टेसरजंग गुरुङले गरेका थिए।

बेलायतमा रहंदा सांसद खातुनले वेष्टमिन्सटरस्थित बेलायती संसदका साथै स्कटल्याण्डको संसद समेत अवलोकन भ्रमण गरेकी छन्। त्यसबाहेक थुप्रै बेलायती सांसदहरुसँग उनले छलफल र अनुभव आदानप्रदान गरेकी छन्।  

तनहुँ जिल्लाबाट समानुपातिकतर्फकी नेकपा एकिकृत समाजवादीकी सांसद हुन् खातुन। संगै बेलायत आएका अन्य तीन सांसदहरु भने नेपाल फर्किसकेपनि उनी भने अर्को साता फर्किने तयारीमा छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू