बिहीबार, वैशाख १३, २०८१
21:09 | ०१:५४

एनआरएनए विभाजनको संघारमा, दुई समूह अलगअलग महाधिवेशन तयारीमा

रासस मार्च १६, २०२२

काठमाडौं । अन्ततः विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था गैरअवासीय नेपाली संघ (एनआरएनए) मा दुई पक्षबीचको टकरावका कारण संस्था विभाजनको संघारमा पुगेको छ ।

नेपालको प्रगतिमा हैंसे गर्ने साथै आमप्रवासी नेपालीहरूको हकहित, अधिकार र नयाँ पुस्तालाई नेपालसँग जोडिराख्ने भावनाले २० वर्षअघि एनआरएनए स्थापना गरिएको थियो ।

एनआरएनएको १०औँ महाधिवेशनका लागि प्रतिनिधि चयन लगायतका विषयमा उत्पन्न विवाद आन्तरिक रुपमै समाधान हुन नसक्दा परराष्ट्र मन्त्रालय र अदालतसम्म पुग्यो । एनआरएनएका वर्तमान अध्यक्ष कुमार पन्त पक्षधर समूह र उपाध्यक्ष सोनाम लामा पक्षधर समूहले अलगअलग रुपमा महाधिवेशनको मिति तय गरी निर्वाचन प्रक्रियासमेत थालनी गरिसकेका कारण संस्था अब एक ढिक्का हुनसक्ने सम्भावना कम रहेको देखिएको छ । यद्यपि संघका केही पदाधिकारी र संरक्षकहरुले सहमतिका लागि प्रयास गरिरहेको बताइएको छ ।

संघको महाधिवेशन तथा विश्व सम्मेलन तयारीका लागि अध्यक्ष पन्त समूहले नयाँ नेतृत्व चयनका लागि निर्वाचनका अधिकांश प्रक्रिया सम्पन्न गरिरहेको जनाएको छ । सो समूहले यही चैत १० र ११ गते मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको संघका प्रवक्ता डिबी क्षेत्रीले बताए ।

यस्तै महाधिवेशन आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष लामा समूहले यही चैत ८ देखि ११ गतेसम्मका लागि एनआरएनएको १०औँ महाधिवेशनको मिति तय गरेको जनाएको छ ।

महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलन तयारी अन्तिम अवस्थामा पुगेको लामाले बताए । उनका अनुसार महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समिति पनि गठन गरिएको र महाधिवेशनका लागि प्रतिनिधि नेपाल आउने क्रम जारी छ ।

संघको विधानअनुसार गत अक्टोबर २३–२५ तारिखमा अधिवेशनको तयारी गरिए पनि प्रतिनिधि छनोटको प्रक्रियागत विवादका कारण अधिवेशन स्थगित भएको थियो । त्यसपछि गत डिसेम्बर १५ मा पुनः अर्को निर्वाचन मिति तय गरिएको थियो ।

संघको कार्यसमितिले विवाद सुल्झाउनुको सट्टा गत मार्च २ मा आकस्मिक बैठक बसी उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेज गर्ने निर्णय गरेपछि विवाद झनै चुलिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू