शनिबार, वैशाख ८, २०८१
14:15 | १९:००

एनआरएनए विभाजनको मुखमा, आचार्य पक्षबाट समानान्तर अधिवेशन घोषणा

नेपाली लिङ्क मार्च ११, २०२२

फाइल तस्विर-अध्यक्ष प्रत्यासी कुल आचार्य र पूर्व अध्यक्ष शेष घले

लन्डन- गैरआवासीय नेपाली संघ(एनआरएनए) भित्रको महिनौँदेखिको विवाद अन्तत: विभाजनसम्म आइपुगेको छ ।  

संस्थापन पक्षसँग असन्तुष्ट अध्यक्ष प्रत्यासी कुल आचार्य पक्षले समानान्तर अधिवेशन घोषणा गरेपछि संस्था अब दुई चिरा हुने भएको हो । 

आचार्य पक्षधर संघका पूर्व अध्यक्ष शेष घलेले संस्थापन पक्षको समानान्तर हुने गरी छुट्टै निर्वाचन मिति घोषणा गरेका छन् भने निर्वाचन समिति पनि पुनर्गठन भन्दै छुट्टै गठन गरेका छन् । 

घलेले संघको प्रमुख संरक्षकको हैसियतमा विधानमै टेकेर संस्था जोगाउन कदम चालेको बताएका छन् । तर, उनलाई अन्तरराष्ट्रिय समन्वय परिषदले केही साताअघि नै उक्त पदबाट हटाइसकेको थियो ।  

यसअघि गत अक्टोबरमै निर्धारित एनआरएनए निर्वाचन प्रतिनिधि विवादका कारण कयौं पटक सर्दै यही मार्च २४ र २५ लाई तय छ जसका लागि उम्मेद्वार मनोनयन पनि शुक्रबार सकिंदैछ। तर प्रतिनिधि विवाद समाधान नगरी यथावस्थामा  निर्वाचन हुन नसक्ने बताउँदै आएको आचार्य पक्षका कुनै उम्मेद्वारले पनि मनोनयन गरेका छैनन् ।

संस्थापन पक्षको मितिभन्दा केही दिनअघि मार्च १९-२१ मा निर्वाचन गर्ने आचार्य पक्षले घोषणा गरेको छ । छुट्टै निर्वाचन समिति पनि घोषणा गरिएको छ । 

पूर्व अध्यक्ष घलेले घोषणा गरेको निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (यूके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) छन् । 

घलेले उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा दशौँ महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन् । समितिको सहसंयोजकमा अर्का उपाध्यक्ष मन केसी तथा  सदस्यमा एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजकहरु लगायत रहने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू