शुक्रबार, वैशाख १४, २०८१
14:11 | १८:५६

बेलायती राजदूत रमाइन् बेगनास साइकल यात्रामा

रासस फ्रेब्रवरी २१, २०२२

बेगनास फेरोमा साइकल यात्रा गर्दै बेलायती राजदूत निकोला पोलिट । तस्बिर- जमुनावर्षा शर्मा-रासस

पोखरा । बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले आज बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेकी हुन् ।

पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आएकी उनले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा साइकल यात्रा गरेको सृदृढ परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार पोलिटले आज बिहान साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा गरेकी थिइन् ।

पोलिटले आफ्नो साइकल यात्राबारे अनुभव सुनाउँदै भनिन्, “सोमबारको बिहान निकै रमाइलो भयो । माछापुच्छ्रेको सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो ।”

कोभिड–१९ का कारण विश्वव्यापी रुपमै पर्यटन क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै उनले अब भिसा प्रोटोकल खुकुलो हुंदै र कोरोना संक्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको सङ्ख्या बढ्ने विश्वाससमेत व्यक्त गरिन् । उनले अगाडि भनिन्, “नेपाल भुबनोटले असाध्यै सुन्दर छ, यहाँका मानिसहरूका आत्मीयता निकै लोभलाग्दो छ । कोरोना कम हुँदै गएपछि धेरैको रोजाइको शहर पोखरा बन्ने छ ।”

पोलिटले नेपालमा धेरै सुन्दर ठाउँहरू रहेको यसको प्रवद्र्धनको आवश्यक रहेको बताइन् । उनले पर्यटकलाई साइकल रुटका बारेमा जानकारी दिन सके र साइकल मैत्री पूर्वाधार बनाउन सके पर्यटन प्रवद्र्धन हुँदै जाने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा राजदूतले नेपाल बेलायत कूटनीतिक सम्बन्ध धेरै राम्रो भएको र बेलायतमा नेपाललाई हेर्ने दृष्टिकोण पनि निकै सकारात्मक रहेको बताइन् । उनले बिट्रिसहरूले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको पनि खुलाइन् । राजदूत पोलिटले जलवायु परिवर्तनले नेपालको हिमालयन क्षेत्रमा परेको असरलाई पनि बेलायत सरकारले निकै चासोका रूपमा लिएको बताइन् ।

साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाले लेखनाथको लामास्वाराँदेखि रामदीवेगनास, सुन्दरीडाँडा हुँदै वेगनास फेरोको साइकल यात्रा गरेको जानकारी दिए । राजदूतको साइकल यात्राले यस क्षेत्रको प्रचारप्रसारमा सकारात्मक भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । “उहाँले साइक्लिङका क्रममा हामीसँग निकै रमाइलो अनुभव साट्नु भयो, सुन्दर दृश्यवलोकनसहित उहाँले निकै सकारात्मक सन्देश दिने भिडियो पनि खिच्नुभएको छ । यसले हामीलाई निकै उत्साहित बनायो”, कोइरालाले भने ।

पोखरा महानगरपालिकाको आयोजना र बेलायती सहयोग नियोगको प्राविधिक सहयोगमा पोखरालाई कार्वन तटस्थ शहर बनाउने बारे सरोकारवालाबीचको छलफल कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट आफ्नो भनाइ राख्दै । तस्वीर- रासस

कोइरालाका अनुसार केही समयअघि वेगनास फेरोमा साइक्लिङ गरेका तस्बिर साइकल सिटी सचिव जय गुरुङले ट्विटरमा पोष्ट गरेको देखेपछि राजदूतले रुचि देखाएर सो साइकल रुटका बारेमा जानकारी लिएकी थिइन् । सचिव गुरुङका अनुसार साइकल सिटीले पोखरालाई प्रवद्र्धन गर्नका लागि ‘टुर दी पोखरा’ सँगै नयाँ वषर्मा ‘नयाँ ठाउँ एक गन्तव्य’ कार्यक्रम गर्दै आएको छ ।

पोखरा पर्यटकीय सहर भएकाले साइकल मैत्री सहर बनाउनुपर्छ भन्ने अवधारणा अघि सार्दै पोखराका विभिन्न २१ स्थानमा साइकल स्ट्यान्ड राखेको छ ।

त्यसैगरी बाढीपहिरा पीडितलाई सहयोग, वृक्षारोपण, रक्तदानलगायत सामाजिक एवम् वातावरण मैत्री कार्यक्रम पनि गर्दै आएको साइकल सिटीमा एक सयभन्दा बढी सदस्य छन् । साततालको फेरोको ७४ किलोमिटरको साइकल मार्गको प्राजेक्टका लागि पनि काम गर्ने तयारी भएको गुरुङले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू