आइतबार, जेठ ८, २०७९
11:10 | १५:५५

ठमेलमा बढ्यो पर्यटकीय गतिविधि

रासस फ्रेब्रवरी २०, २०२२

काठमाडौँ, ८ फागुन– सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको तेस्रो चरणको ओमिक्रोन भाइरसका कारण ठप्पजस्तै रहेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै चहलपहल बढ्न थालेको हो ।

बढ्दो ओमिक्रोन भाइरसका कारण सरकारले रात्रिकालिन व्यवसायमा बन्देज लगाएसँगै सुनसान रहेको ठमेल यही फागुन १ गतेदेखि पुनः रात्रिकालिन व्यवसाय सञ्चालनमा खुला गरिँदा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा कोरोनाको संक्रमणदर कम र रात्रिकालीन व्यवसाय सुरु भएसँगै ठमेलमा पर्यटकीयगतिविधि बढेको बताउंछन् । “ठमेलका गल्लीहरुमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ”, उनले भने ।

यहाँ ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् । ठमेलमा कोरोनाकै बीचमा सञ्चालनमा आएको चारतारे होटल रमदा इन्कोरका महाप्रबन्धक महेश फुँयाल ठमेलमा पर्यटकीय गतिविधि विस्तारै बढ्दै गएको बताउंछन् ।

“एक महिना पहिलेभन्दा अहिले होटलमा आउने स्वदेशी तथा विदेशी पाहुना बढेका छन्”, उनी भन्छन् । अब विस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने उनको अपेक्षा छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका सचिव बसन्त लामा पछिल्लो समय बौद्ध क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताउंछन् । “शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ, विदेशी पर्यटक पनि फाट्टफुट्ट आउन थालेका छन्”, उनले सुनाए ।

कोरोनाको तेस्रो लहरका कारण बन्द रहेको बौद्धनाथ क्षेत्रभित्रको मण्डला परिसर भने हालसम्म पनि नखोलिएको सचिव लामा बताउंछन् ।

कोरोनाको समय अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे । अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवा पुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनःव्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् ।

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) का पूर्व उपाध्यक्ष निलहरि बाँस्तोला कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई पुनर्जिवन दिनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउंछन् । “विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्छ”, उनी भन्छन् ।

नेपाल पर्यटन बोर्डका अधिकृत कविन्द्र भट्ट जनवरीमा मात्र हवाई मार्ग भएर १६ हजार ९७५ विदेशी पर्यटक नेपाल भित्रिएको बताउंछन् । “कोरोनाको तेस्रो लहर तीव्र गतिमा बढिरहेको बेला एक महिनामा झण्डै १७ हजार पर्यटक भित्रिनु नेपालको पर्यटन उद्योगका लागि खुशीको कुरो हो”, उनले भने । गतवर्ष उक्त महिनामा नेपालमा जम्मा आठ हजार ८७४ विदेशी पर्यटक भित्रिएका थिए ।

बोर्डका अनुसार जनवरीमा भित्रिनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । उक्त महिना भारतबाट तीन हजार ९१६, बङ्गलादेशबाट एक हजार २३१, युरोपबाट तीन हजार ५२७, एसिया तथा अन्य मुलुकबाट एक हजार ११४, अमेरिका र क्यानाडाबाट तीन हजार ६१८, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट एक हजार २४० तथा अन्य मुलुकबाट एक हजार ९७५ पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनन्जय रेग्मी पछिल्लो समय नेपालमा विदेशी पर्यटक आउने क्रम बढेको बताउंछन् । “कोरोनाबाट थलिएको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको छ, अब विस्तारै पर्यटकीय गतिविधि बढ्दै जान्छ”, उनी भन्छन् ।

विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको यो सुधारले पर्यटन क्षेत्रलाई केही हदसम्म सकारात्मक ऊर्जा प्रदान गरेको सिईओ रेग्मीको भनाइ छ ।

झण्डै दुई वर्षदेखि थला परेको नेपालको पर्यटन उद्योगलाई अगाडि बढाउनका लागि नेपाल पर्यटन बोर्डले विभिन्न कार्यक्रम अगाडि बढाएको छ ।

बोर्डका सिईओ रेग्मी नेपालको पर्यटन क्षेत्रको विकासमा भारतीय पर्यटकको ठूलो भूमिका रहेको उल्लेख गर्दै बोर्डले भारतीय पर्यटक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताउंछन् ।

विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई गृह मन्त्रालयले सहज रुपमा भित्रिने वातावरण निर्माण गरे नेपालमा भारतीय पर्यटकको सङ्ख्या अझै बढ्ने उनको भनाइ छ । नेपाल भित्रिने भारतीयलाई नाकामा गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १९१, सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा एक लाख ५० हजार ९६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू