शुक्रबार, वैशाख २१, २०८१
19:40 | ००:२५

बेलायतको एयरपोर्टबाटै फर्काईंदै नेपाली विद्यार्थी

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२२

लन्डन । युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकसायर (यूकलान) मा ब्याचलर अफ आर्टस् वीथ अनर्स इन विजनेश म्यानेजमेन्ट पढ्न आएका चारजना विद्यार्थी जनवरी तेश्रो साता म्यानचेस्टर विमानस्थलमा समातिए ।
सोधपुछ गर्दा ति विद्यार्थीले झुटा विवरण पेश गरेको, कोर्सका बारेमा पर्याप्त ज्ञान नभएको, विश्वविद्यालयलाई तिर्न बांकी फि र गासबासका लागि बैंकमा कोष नभएको, अंग्रेजी समेत राम्ररी बोल्न नसकेर दोभाषे राख्नुपरेको आदि कारण दर्शाउंदै अध्यागमन अधिकृतले ‘इमिग्रेसन एक्ट १९७१’ अन्तर्गत भिसा रद्द गरेर नेपाल फिर्ता पठाइदिएका थिए ।
अचेल यस्ता घट्ना दोहोरिरहेका छन् । बेलायतले गत जुलाई १ देखि कुनै पनि ब्रिटिश विश्वविद्यालयबाट ग्रयाजुएसन पुरा गरेका विदेशी विद्यार्थीले थप २ वर्ष काम गर्न पाउने नियम लागू गरेपछि नेपालबाट पनि सयौं विद्यार्थी यहां पढ्न आएका छन् ।
तर, अंग्रेजीमा दख्खल नहुनु, आफू पढ्ने विश्वविद्यालय, कोर्ष र बेलायती जीवनबारे पर्याप्त जानकारी नराख्नु, एजेन्टमा भर पर्नु र अध्ययनभन्दा कमाइ मुख्य लक्ष्य राखेपछि विद्यार्थीहरु विचल्ली वा विमानस्थलबाटै फर्कनु परेको छ ।
हडर्सफिल्ड युनिभर्सिटीका एसोसिएट डिन (इन्टरनेशनल) प्रा. डा. पदम सिम्खडा विशेष गरि दक्षिण एसियाबाट आउने विद्यार्थीमा समस्या पाइएको बताउंछन् । ‘मेरो जिम्मेवारी नै अन्तर्राष्ट्रिय विद्यार्थीका समस्या सुल्झाउन प्रयास गर्ने भएकाले हरेक दिन नेपाली विद्यार्थी अप्ठेरोमा परेको सुन्नमा आउंछ । यो समस्या पछाडि विद्यार्थीमा तयारी नहुनु नै प्रमुख कारण हो’, डा. सिम्खडाले भने, ‘विद्यार्थी आफूले केही काम नगरि एजेन्टमा भर पर्ने गर्छन् । कतिपयलाई कोर्स के, कहां र कहिले शुरु 
गर्ने ? मोड्युल के हो ? बेलायत आएर कसरी सर्भाइभ गर्ने जस्ता सामान्य ज्ञान पनि हुंदैन् । पढ्न बेलायत आउने भएपछि गृहकार्य त चाहियो नि ।’
डा. सिम्खडा यूकेभिआइले अक्टोबर २० देखि यूके पढ्न आउन आइएलटिएस् अनिवार्य बनाएको जनाउंदै पहिले नै अंग्रेजी बिना अप्लाई गरेका विद्यार्थी अहिले यता आएर अध्यागमनमा समस्या झेल्न वाध्य भएका बताउंछन् ।
‘यसमा नेपालस्थित शैक्षिक कन्सल्टेन्सीको पनि दोष छ । कन्सल्टेन्सीले कमिसनको प्रलोभनमा जस्ता विद्यार्थी पनि भर्ना गरिदिने, आइएलटिएस् नभए पनि विश्वविद्यालयको आन्तरिक अंग्रेजी परीक्षाले चल्छ भनेर प्रोत्साहित गर्ने, कमाइन्छ भनेर सपना देखाउने अनि लन्डनमा जति पनि काम छ भनेर म्यानचेस्टर 
र लिभरपुल पठाइदिने गर्दा विद्यार्थी विचल्लीमा पर्छन्’, उनले भने ।
ब्राइटनस्थित युनिभर्सिटी अफ ससेक्समा अन्तर्राष्ट्रिय मानवअधिकार कानूनमा मास्टर्स गरिरहेकी चिभिनिङ स्कलर हुन् सरिता सुवेदी ।
बेलायत आएर पढ्नु आफैंमा राम्रो भएपनि त्यो भन्दा अगाडि यहांको अवस्था र आएपछि कलेज फि, खाने बस्ने प्रवन्ध कसरी गर्ने भन्नेबारे राम्रोसंग जानकारी लिएर आएमात्र धेरै दुःख पाउनबाट बचिने उनको बुझाइ छ ।
‘म आफू पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको भएपनि यहांको विद्यार्थी जीवन सहज छैन् भन्ने महसुस गरेकी छु’, चार महिनाअघि बेलायत आएकी उनले अनुभव सांटिन्, ‘बेलायतमा धेरै सिक्ने अवसरका बावजुत पनि कतिपय नेपाली विद्यार्थीले बीचमै अध्ययन छोड्ने गरेको देखें । त्यसको प्रमुख कारण नेपालबाट आउनु अघि कुन विश्वविद्यालय र विषय आफ्ना लागि अनुकुल छ भनेर नबुझ्नु, पैसा कमाउने मात्र उद्देश्य राखेर आउने गर्दा धेरैले दुःख पाएका छन् ।’
बेलायतमा विद्यार्थीका लागि धेरै प्रकारका छात्रवृत्ति पनि भएकाले बुझेर आवेदन दिए आर्थिक रुपमा समेत सहज हुने उनको सुझाव छ ।
‘यहांका विश्वविद्यालयको पढाइ र बेलायती जीवनयापन नेपाल भन्दा धेरै फरक छ । यहां पढेर कति अंक ल्यायौ भन्दा पनि के सिक्यौ भन्ने कुरामा धेरै ध्यान दिइन्छ । दुःख नगरी केही पनि प्राप्त गर्न सकिंदैन् भन्ने कुरा बुझ्न यहां धेरै समय लाग्दैन्’, उनले सुनाइन् ।
लन्डनस्थित नेपाली दूतावासले विद्यार्थीका समस्या सोसल मिडिया र समाचारमार्फत थाहा पाएपनि आधिकारिक रुपमा कसैले सम्पर्क नगरेको जनाएको छ ।
‘हामीले सोसल मिडियातिर विद्यार्थी फिर्ता पठाइएको चाल पायौं । तर, कसैले पनि यो समस्या परयो भनेर दूतावासमा फोन गरेको छैन्’, कार्यवहाक राजदूत रोशन खनालले भनिन्, ‘हामी वास्तविक तथ्य बुझन् प्रयासरत छौं ।’ कान्तिपुर
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू