मंगलबार, जेठ ८, २०८१
00:30 | ०५:१५

सातामा एक सय घण्टा काम गर्ने राज अहिले सफल युवा उद्यमी (भिडियो)

नेपाली लिङ्क अप्रिल ३०, २०२४

लन्डन- करिब १२ वर्ष अघि आफ्नी जीवनसंगिनी डा. रक्षा थापाको डिपेन्डेन्टमा लण्डन आएका राज पाण्डेले शुरुका दिन निकै संघर्ष गरे । आम्दानी कम हुँदा पाउरोटी र चाउचाउमात्र खाएर छाक टारेको दिन गनि साध्य छैन ।

राजले लन्डनमा पहिलो तलव मासिक ८७१ पाउण्ड थापेका थिए । ‘त्यो बेला म र बुढी पैसा बचाउन पार्टी छलेर काम गर्दथ्यौं । स्टारबक्स कफी पिउने हाम्रो सपना हुन्थ्यो । बुढीको कलेज फि तिर्न साथमा पैसा नै हुन्थेन’, राज भावुक बने, ‘लन्डनको वुलवीचमा बस्थ्यौं हामी । धेरै दिन चाउचाउ खाएर पनि गुजारा गरियो ।’

श्रीमतिको यूनी फिदेखि ॠण तिर्न सातामा एक सय घण्टासम्म काम गरेको सम्झंदा अहिले उनी आफैं झसँग हुन्छन् । एउटा सपना थियो, उमेर थियो, जोश थियो । 

तर, अहिले समय बदलिएको छ । करिब एक दशक समयमा उनको व्यवसायिक सफलता लोभ लाग्दो मात्र छैन, प्रेरणादायी पनि छ ।  

माया सपोर्टेड लिभिङका प्रवन्ध निर्देशक पाण्डे लन्डनका सफल युवा व्यवसायी हुन् । उनको माया इभेन्ट्स र माया क्रिकेट क्लव पनि छ ।  

सन् २०१८ जुनमा दर्ता भएर फेबुअरी २०१९, २१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले ९ वटा शाखा छन् । यो पेशामा कमै मात्र नेपाली संलग्न छन् ।

उनको कम्पनीमा अहिले ५० जना बढीले रोजगारी पाइरहेका छन् । 

लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई सपोर्ट गर्ने काम गर्छ उनको कम्पनीले । विरामीलाई सन्चो बनाएर पुनः कम्युनिटीमा फर्किन सहयोग गर्ने मायाको प्रमुख प्राथमिकता छ । 

नेपालका पूर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्ल ब्राण्ड एम्बासडर रहेको उक्त कम्पनी दिनप्रतिदिन विस्तारका क्रममा छ । 

सन् २०१२ मा लन्डन उत्रिएर सु सेफको काम गरे उनले, सेफ भए तर हेड सेफ हुन दिएनन् । केही रचनात्मक र पृथक काम गरौं भन्ने मानसिकता बनाइरहेका राज यस कामबाट कत्ति खुशी थिएनन् । ‘रेष्टुरेन्ट लाइनमा छुट्टी पनि नपाइने, न कुनै प्रगति हुने अनि केही नयां गरौं भनेर यस काममा लागें’, उनी भन्छन् ।

उनले घर घरमा गएर बिरामीको रेखदेख गर्ने काम गर्न थाले । यस कामले उनलाई खुशी दिन थाल्यो । ‘यो काममा मलाई हरि भट्टले इन्करेज गर्नुभयो । लेभल थ्री हेल्थ एण्ड सोसियल केयर कोर्स पनि गरें’, उनी विगत स्मरण गर्छन्, ‘शुरुमा २ हप्ताभित्र ११ वटा इन्टरभ्यू दिएको थिएं, अप्टिमा केयरमा असिस्टेन्ट म्यानेजरको काम थालें ।’ राजलाई यो काम ओके गरेकै दिन अर्को कामबाट पनि फोन आएको थियो तर उनले यही रोजे ।

सन् २०१६ तिर हो । ४ महिनामा एरिया म्यानेजर बने । ३८ वटा शाखा रहेको अप्टिमा केयरमा ५ महिनापछि क्राइसिस म्यानेजरको रोल पाए । जिम्मेवारी वृद्धि भएसंगै उनलाई पावर पनि थपियो । कर्मचारी राख्ने निकाल्ने उनकै हातमा थियो । राजले उक्त कम्पनीलाई धेरै उचाइमा पुरयाइदिए ।

‘म गर्वका साथ भन्छु मैले त्यो बेला धेरै रामो काम गरें’, उनले सम्झिए, ‘डेढ वर्ष जति काम गरेपछि त्यहां छाडेर आफनै कम्पनी खोलें ।’

कम्पनी खोलेर मात्र पुग्ने थिएन । सबैं आफैंले गर्नु परेपछि शुरुमा गारहो पनि भयो उनलाई । उनले सन् २०१९ देखि २०२० सम्म केयर म्यानेजमेन्ट एक्सपर्ट लिन्डसे रोबर्टसनलाई लिए । आफ्नी जीवनसंगिनी रक्षा थापा एचआर हेर्थिन् । कम्पनीले गति लिन थाल्यो ।

च्यारिटी संस्था द डिसेबिलिटी ट्रष्टमा प्रोगाम म्यानेजमेन्ट हेर्ने लिन्डसेले अहिले पनि आवश्यक पर्दा सबै सुझाव सल्लाह दिने बताउंछन् राज ।

लन्डन हन्स्लोस्थित आर्गाइल एभिन्यूमा खुलेको पहिलो साइट थियो माया सपोर्टेड लिभिङको । अहिले उनका ९ वटा साइट छन् ।

अर्को प्रोजेक्ट शुरु गर्ने तयारीमा छन् राज जुन सम्भवत नेपालीको सबैभन्दा ठूलो केयर होम हुने छ ।

हेटौंडा छंदा क्षेत्रीय स्तरको क्रिकेट खेलाडी उनी नेपालमा क्रिकेट खेल विकास र खेलाडीको आर्थिक स्तर उकास्न लागिरहेका छन्। नेपालले क्रिकेटमा ठूलो फड्को मारिरहेका बेला बेलायतमा त्यो स्तरमा प्रतियोगिता गर्दा नेपाली खेलाडीको एक्पोजर थप बढ्ने विश्वाससहित पाण्डे यहाँ मेघा इभेन्ट गर्ने सोचमा छन् ।

माया क्रिकेट क्लवले अहिले अन्तरराष्ट्रिय क्रिकेटरबाट नेपाली खेलाडीलाई निशुल्क तालिम दिइरहेको छ भने १४ जुलाईमा टी १० प्रतियोगिता गर्ने तयारी छ ।

हेरौं राज पाण्डेसँग नरेन्द्र बस्नेतको भिडियो संवाद:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू