सोमबार, वैशाख १७, २०८१
14:02 | १८:४७

चर्चित बेलायती टेनिस खेलाडीलाई ‘आतंकित’ पार्ने नेपाली युवा फन्दामा

घरसम्मै पुगेर पिछा गरेकोमा अदालतबाट दोषी ठहर

नेपाली लिङ्क जनवरी २९, २०२२

फोटो -डेली मेल

लन्डन । गत वर्ष युएस ओपन च्याम्पियनसिप जितेर विश्वविख्यात बनेकी ब्रिटिश टेनिस प्लेयर एम्मा र्‍याडुकानुलाई ‘आतंकित’ पार्ने एक नेपाली युवा फन्दामा परेका छन् ।

ब्रिटिश नम्बर वान एम्माको घरसम्मै पुगेर पिछा गरेको अभियोगमा अमृत मगर दोषी ठहर भएका छन् । ब्रोम्ली मेजिस्ट्रेट कोर्टले शुक्रबार लन्डन एजवेयर बस्दै आएका उनलाई दोषी ठहर गरेको हो ।  

साउथ इष्ट लन्डनस्थित ब्रिटिश नम्बर १ एम्माको घरसम्मै पुगेर उनको पिछा गरेको र उनका बाबुको जुत्ता चोरेर लगेको अभियोगमा मगरलाई अदालतले दोषी ठहर गरेको हो । तर हाल प्रहरी हिरासतमा राखिएका उनलाई सजाय भने आगामी महिना मात्रै सुनाइनेछ ।

बेलायती मिडियाहरुले जनाएअनुसार गत डिसेम्बर महिनामा कम्तीमा तीन पटकसम्म मगर एम्माको घरमै पुगेर पिछा गरेका थिए । विगतमा अमेजनको डेलिभरी ड्राइभरका रुपमा समेत काम गरेका उनले पहिलोपटक एम्माको घरमा पुगेर ‘यु डिजर्भ लभ’ (तिमी मायाको हकदार छौ) लेखेर फूलको गुच्छा छोडेका थिए । त्यसक्रममा एम्माका बाबुआमाले भेटेर सोधपुछ गर्दा उनले आफू डेलिभरी ड्राइभर रहेको र फूल अरुले नै पठाएको भन्दै झुट बोलेका थिए ।  

दोस्रोपटक एम्माको घरमा पुगेका मगरले एक नक्सा कोरेर उनलाई भेट्न आफूले लन्डन एजवेयरदेखि साउथ इष्ट लन्डनसम्मको २३ माइल लामो यात्रा गरेर आएको बताएका थिए । त्यसको केहि दिनपछि फेरि मगरले एम्माको घरबाट पोर्चमा राखिएका उनका बाबुको जुत्ता नै चोरेर लगेका थिए । उनले एम्माको ठानेर बाबुका जुत्ता चोरेको ठानिएको छ ।  

एम्मालाई छोडेको नोटमा मगरले आफ्नोसंगै पत्नी बीनाको नाम समेत उल्लेख गरेका थिए ।  

अदालतसंगको बयानका क्रममा एम्माले मगरका कारण आफ्नो स्वतन्त्रता खोसिएको अनुभव गरेको सुनाएकी थिइन् । सोही कारण आफ्नो घरबाट बाहिर निस्किंदा र त्यसमा पनि एक्लै हुँदा आफूलाई झन् असुरक्षित महशुस हुने गरेको उनको बयान थियो । यही तनावका कारण आफ्नो घर नै परिवर्तन गर्न चाहेको पनि उनले बताएकी थिइन् ।  

गतवर्ष १९ वर्षको उमेरमै प्रतिष्ठित युएस ओपनको उपाधि जितेपछि एम्माको चर्चा एकाएक चुलिएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू