शुक्रबार, वैशाख ७, २०८१
12:25 | १७:१०

कास्कीका मृगौलापीडित विकलाई यूकेबाट झन्डै ९ लाख सहयोग

नेपाली लिङ्क जनवरी २३, २०२२

लण्डन । कास्की माछापुच्छ्रे गाउँपालिका -७, धम्पुसका मृगौला रोगबाट पीडित ३८ वर्षीय कुमार विश्वकर्मालाई बेलायतबाट आर्थिक सहयोग गरिएको छ । उनको उपचारको लागि बेलायतबाट ८ लाख ८९ हजार रुपैयाँको सहयोग पठाइएको हो ।

धम्पुस पोखरी घोताने परिवार यूकेको नेतृत्वमा संकलित सहयोग रकम गत मंगलबार पीडित विश्वकर्मालाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ। धम्पुस पोखरी गाउँको सुन्दर दृश्यहरु देखिने नर्थफेस भ्यू पोइन्टमा एक कार्यक्रमबीच उक्त सहयोग हस्तान्तरण राखिएको थियो।

अहिलेको कोरोना महामारीको विषम परिस्थितिलाई ध्यानमा राख्दै सरकारको नीति नियमलाई पालना गरी कार्यक्रम गरिएको थियो। जसमा माछापुच्छ्रे गाउँपालिका-७, धम्पुस गाउँको वडा अध्यक्ष समबहादुर गुरुङ, मेजर रिटायर्ड खुशीमान गुरुङ एमभीओ, धम्पुस परिवार यूकेका पूर्व अध्यक्ष अमर गुरुङ, पीडित कुमार विश्वकर्माको परिवार, बृद्ध आमाबुबाहरु साथै आमा समूहको कार्यसमिति र स्थानीयवासीहरुको उपस्थिति थियो।

त्यस अवसरमा सहयोग रकम जुटाउने बेलायतस्थित १ सय ७६ दाताहरुको नाम तथा सहयोगको पूर्ण विवरण सहसचिव अमृत गुरुङले पढेर सुनाएका थिए । धम्पुस पोखरी घोताने परिवार यूकेका संरक्षक लेप्टेनेण्ट रिटायर्ड जसबहादुर गुरुङको हातबाट कुमार विश्वकर्मालाई चेक रकम हस्तान्तरण गरिएको थियो ।

धम्पुस पोखरी घोताने परिवारका प्रथम उपाध्यक्ष ओमप्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार एवं पूर्व अध्यक्ष जगबहादुर गुरुङले स्वागत मन्तव्य दिएका थिए भने  सचिव कुलबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

मृगौलापीडित कुमार विश्वकर्माको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू