बिहीबार, चैत १५, २०८०
10:39 | १६:२४

मदिरा कान्डले बेलायती प्रधानमन्त्रीको राजनीतिक भविष्य धरापमा

नेपाली लिङ्क जनवरी १६, २०२२

प्रधानमन्त्री बोरिस जोन्सन । तस्विर- एएफपी

लन्डन । बेलायतमा कोभिड लकडाउन भइरहंदा त्यहां कार्यरत कर्मचारीले नियम विपरित केही अनौपचारिक सामूहिक जमघट र मदिरापान गरेको भन्ने विषयले अहिले बेलायतको राजनीति निकै तातेको छ ।

लकडाउन प्रतिवन्ध जारी रहंदा सरकारी अधिकारी नै पार्टी भोजमा व्यस्त भएको पाइएपछि अहिले ब्रिटिश सरकार आलोचित बनेको छ ।

प्रधानमन्त्री बोरिस जोन्सन आफैंले पार्टीमा सहभागी थिएं भन्ने स्वीकारोक्तिले राजनीति थप तरंगित मात्र भएको छैन्, धेरैले बोरिसको राजनीतिक भविष्य नै संकटमा परेको आंकलन गर्दैछन् ।

सर्वसाधारणलाई नियम लगाउने तर आफूहरु भने प्रधानमन्त्री कार्यालयभित्र मदिरा पार्टी गर्ने भन्दै प्रधानमन्त्री जोन्सनको तीव्र आलोचना भएको छ । प्रतिपक्षसहित सत्तारुढ दल कन्जरभेटिभ (टोरी) कै सांसदहरुले प्रधानमन्त्रीको राजिनामा मागिरहेका छन् ।

धेरै सहकर्मीलाई बोरिस आउंदो आमनिर्वाचनमा नेता हुन्छन् भन्ने विश्वास छैन् ।

सयौं आक्रोशित मतदाताले यही विषयमा आफ्ना सांसदहरुलाई सम्पर्क समेत गरेको जनाइएको छ । कतिपय नेताहरुले प्रधानमन्त्रीले अब नेतृत्वका लागि नैतिक धरातल गुमाइसकेको टिप्पणी गरेका छन् ।

एकजना सिनियर ब्याक बेन्च कन्जरभेटिभ सांसदले दलबारे आक्रोश व्यक्त गरिएका २ सय भन्दा बढी इमेल आएका र तिमध्ये ५ वटामा मात्र प्रधानमन्त्रीलाई समर्थन गरिएको जनाए ।

बीबीसीले प्रस्तुत गरेको ‘टाइमलाइन’ अनुसार लकडाउनका बेला सरकारी अधिकारीहरुले पटक पटक जमघट गरेका पाइएको छ ।

अमेरिकाको हवाइट हाउस जस्तै बेलायतको डेन डाउनिङ स्ट्रिट प्रधानमन्त्रीको कार्यालय र निवास दुवै एकै ठाउंमा भएको ठाउं हो ।

प्रधानमन्त्री जोन्सनले सर्वसाधारणलाई सतर्क रहन भनिरहंदा उनीसहित सरकारी अधिकारीहरु भने प्रधानमन्त्री कार्यालयमै भोजमा रमाएको घट्नाक्रमले देखाएको छ ।

सन् २०२० को १० मे, १५ मे, २० मे, १७ जुलाई, ५ नोभेम्बर, १३ नोभेम्बर, २७ नोभेम्बर, २ डिसेम्बर, १० डिसेम्बर, १४ डिसेम्बर, १५ डिसेम्बर, १६ डिसेम्बर, १७ डिसेम्बर, १८ डिसेम्बर, १२ अप्रिल २०२१ र १६ अप्रिल २०२१ मा सरकारले नै भोज आयोजना गरेको बीबीसीमा उल्लेख छ ।

बेलायती राजकुमार फिलिपको अन्त्येष्टी हुनु अघिल्लो रात १६ अप्रिलमा राष्ट्र शोकमा डुबिरहेका बेला प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुले टेन डाउनिङ स्ट्रिटमा दुईवटा पार्टी गरेको खवर समेत प्रकाशमा आएका छन् ।

प्रधानमन्त्री जोन्सन उक्त पार्टीमा थिएनन् तर कोभिड नियम उल्लंघन गरेकामा उनी पनि विवादमा तानिए ।

प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटले बेलायती राजदरबार बकिङहम प्यालेससंग माफी मागेको छ । प्रधानमन्त्रीका प्रवक्ताले शोकका बेला उक्त पार्टी हुनु निन्दनीय भन्दै माफी मागेका हुन् ।

गत २० मे २०२० मा बेलायतमा पहिलो लकडाउन बेला प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिट गार्डेनमा आयोजित मदिरा पार्टीमा सहभागी भएपछि विवादमा तानिएका प्रधानमन्त्री बेलायती अखबारले एकपछि अर्को घट्ना उजागर गरेपछि राजनीतिक जीवन नै संकटमा पर्ने गरि मुछिएका छन् ।

प्रधानमन्त्रीले लकडाउन उल्लंघन गरि पार्टी गरेकामा बेलायती संसद ‘हाउस अफ कमन्स’ मा माफी मागे पनि यो मुद्दा सेलाएको छैन् ।

स्कटिस टोरी नेता डग्लस रसले सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व छनोट गर्ने ’१९२२ कमिटी’ लाई एक पत्र लेख्दै प्रधानमन्त्री माथि आफ्नो विश्वास नभएको जनाइसकेका छन् ।

बेलायती सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ५ जना कन्जरभेटिभ सांसदले १९२२ कमिटीलाई पत्र लेखेर सार्वजनिक रुपमै प्रधानमन्त्रीमाथि विश्वास नभएको जनाएका छन् ।

सत्तारुढ दलका ५४ वा सो भन्दा बढी सांसदले त्यस्तै पत्र लेखेमा प्रधानमन्त्री जोनसनले सत्तारुढ दलभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नेतृत्वको प्रतिष्पर्धामा हारे भने उनले पदबाट राजिनामा दिनुपर्छ ।

पूर्व मन्त्री तथा टोरी वरिष्ठ नेता टोबायस एलउडले बोरिसलाई सशक्त नेतृत्व गर्न वा पद छाड्न भनेका छन् । डिफेन्स सेलेक्ट कमिटीका अध्यक्ष एलउडले आफूहरुले ‘नेतृत्व’ चाहेको बताए ।

सरकारले भने बरिस्ठ कमचारी सु ग्रेको छानविन प्रतिवेदन नआइन्जेल आफ्नो धारणा नबनाउन अपिल गरेको छ ।

बेलायती पूर्व विदेशमन्त्रीको सल्लाहकार समितिमा रहिसकेका बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी बेलायती राजनीति नैतिकताले चलेको र सरकार संसदप्रति जवाफदेही हुने बताउंछन् ।

‘संसदप्रति जवाफदेही सरकार भनेको के हो भन्ने जीवन्त र सुन्दर अभ्यास बेलायतको संसदले प्रस्तुत गर्दछ’, डा. सुवेदी भन्छन्, ‘यहांको राजनीतिको सुन्दर पक्ष के छ भने प्रत्येक साता साना ठूला सबै कमी कमजोरीमा प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन लगाइन्छ । सशक्त र सक्रिय संसद कस्तो हुन्छ वा हुनुपर्छ भन्ने उदाहरण बेलायतको संसद हो ।’

हाल बेलायती संसदमा भइरहेको सरकार र विपक्षी दलका नेताबीचको दोहोरी संसारले जस्तै आफूले पनि चाख मानेर हेरिरहेको सुवेदीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू