मंगलबार, १४ अक्टोबर, २०२५
05:53 | १०:३८

दक्षिण एसियाको पहिलो होमस्टे सिरुबारी गाउँवासीले बेलायतमा मनाए दशैं तिहार

नेपाली लिङ्क अक्टोबर १४, २०२५

लन्डन । दक्षिण एसियाको पहिलो होमस्टे सिरुबारी गाउँवासीको संस्था ‘सिरुबारी गाउँ यूके’ ले एक कार्यक्रमबीच दशैं तिहार मनाएको छ ।

गत शनिबार लन्डनस्थित साउथ ह्यारो स्पोर्टस एण्ड सोसल क्लवमा कार्यक्रम गरिएको हो ।

समाजका अध्यक्ष डेभिड गुरुङ र ज्येष्ठ सदस्य निर्मला गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए ।

सो अवसरमा पितृहरू साथै जेनजी आन्दोलनमा सदाहत प्राप्त गरेका दिवंगतहरूको सम्झनामा उनीहरुको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन तथा सामूहिक प्रार्थना गरिएको थियो ।

नेपालबाट आएका प्रख्यात कलाकारद्वय जुनाश्री मगर र तिलक गुरुङका साथ सहभागीले बुद्ध प्रार्थना गरि कार्यक्रमलाई भावनात्मक र धार्मिक वातावरणमा केन्द्रित गरेका थिए ।

यसरी कलाकारहरूको प्रस्तुतिसँगै उपस्थित समुदायले पितृहरूलाई सामूहिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

समाजका अध्यक्ष डेभिड गुरुङले दशैं तिहारलाई परदेशमा पनि जन्मभूमिको माटोसँगको सम्बन्ध र एकताको भावनासँग जोड्दै नेपाली परम्परा, सिरुबारी गाउँको संस्कार र संस्कृति जोगाउने उद्धेश्य राखेर कार्यक्रम गरिएको बताए । उनले सहयोगी र उपस्थित सबैलाई धन्यवाद पनि दिए ।

विशेष अतिथी सोँपाल समाज यूकेका संस्थापक अध्यक्ष विजयबहादुर गुरुङले स्वदेश परदेश जहाँ बसे पनि जन्मभूमिको माया, समुदायबीच एकता, सहयोग, आपसी सद्भावले सबैलाई एकत्रित गर्ने र साँस्कृतिक, धार्मिक एवं सामुदायिक एकतालाई थप बलियो बनाउने धारणा राखे ।

कार्यक्रम सञ्चालन गर्दै महासचिव धनबहादुर गुरुङले कार्यसमितिले पूर्णता पाएपछि सबैको साथ, सहयोग, आपसी मेलमिलाप र सरसल्लाहमार्फत समाज अझ सशक्त हुने बताए ।

कार्यक्रममा नेपालबाट आएका कलाकारद्वय जुनाश्री मगर र तिलक गुरुङले सांगीतिक प्रस्तुति दिए । सो अवसरमा स्थानीय तथा संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू