शनिबार, जेठ ५, २०८१
08:15 | १३:००

समाजसेवी खड्का मानवसेवा आश्रमको युरोप संयोजक नियुक्त

नेपाली लिङ्क डिसेम्बर १९, २०२१

लन्डन । नेपालमा बेसहारा मानिसलाई आश्रय दिइरहेको एउटा परोपकारी संस्था मानवसेवा आश्रम (मानवता प्रवर्धन महाअभियान) को युरोप संयोजकमा एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का नियुक्त भएका छन् ।

संस्थाका प्रमुख संस्थापक तथा अध्यक्ष रामजी अधिकारीले १६ नोभेम्बरमा खड्कालाई नियुक्ति दिंदै संस्थाको मानवता प्रवर्धन अभियानमा थप बल पुग्ने आशा व्यक्त गरेका छन् ।

सडक मानव मुक्त नेपाल बनाउने मानवसेवा आश्रमको अभियानमा खड्काको नियुक्ति फलदायी हुने ठानिएको छ ।

आफूले गहन जिम्मेवारी पाएकामा संस्थालाई धन्यवाद दिंदै यसको युरोप शाखा विस्तार गर्ने कार्यमा जुटिसकेका छन् समाजसेवी खड्का । ‘म युरोपभरि रहेका नेपालीलाई परोपकारी र मानवतासंग जोड्ने अभियानमा लागेको छु’, खड्काले भने, ‘परोपकारी कार्य गर्ने चाहना भएका हरेक युरोपवासी नेपालीलाई हाम्रो संस्थामा स्वागत छ, हाम्रो सामूहिक प्रयत्नले नेपालमा बेसहारा मानिसलाई पुनर्जीवन दिन सम्भव छ ।’

खड्काले मानवसेवा आश्रमले नेपालको सातै प्रदेशमा भौंतारिरहेका बेसहारा मानिसलाई खोजी खोजी गास, बास र संरक्षण दिइरहेको पनि जनाए ।

‘कोही बेसहारा नाना, छाना र खाना नपाएर सडकमा बस्न वाध्य हुन नपरोस्’, खड्काले भने, ‘हाम्रो अभियान नेपाललाई सडक मानव मुक्त देश, मानवताको देश बनाउनु हो ।’

यसलाई च्यारिटी संस्थामा दर्ता गरेर युरोपमा अझ क्रियाशिल बनाउने जनाउंदै खड्काले आफ्नो महान अभियानमा जोडिन सबैमा आव्हान गरेका छन् । कोभिड महामारी न्यून भएपछि अप्रिलतिर युरोपमा विशेष कार्यक्रम गर्ने सोच भएको पनि खड्काले बताए ।

एनआरएनए यूके च्यारिटी विभागको संयोजक भएर कयौं काम गरिसकेका रेष्टुरेन्ट व्यवसायी तथा समाजसेवी खड्काले मानव सेवा आश्रमलाई लामो समयदेखि सहयोग गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू