जीवाश्म इन्धन प्रयोग अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्न कोप–३१ असफल भएपछि निराशा


अन्ताल्या (टर्की)- विश्वव्यापी तापमान वृद्धिको प्रमुख कारणका रूपमा वैज्ञानिक रूपले प्रमाणित भइसकेको जीवाश्म इन्धन (फसिल फ्युल्स) को प्रयोग क्रमशः अन्त्य (फेज आउट) गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्न कोप–३१ असफल भएकोमा एलडीसी वाचले निराशा व्यक्त गरेको छ ।
अतिकम विकसित मुलुकहरूका नागरिक समाजका संस्थाहरूको विश्वव्यापी सञ्जाल ‘एलडीसी वाच’ ले एक विज्ञप्ति जारी गर्दै ‘अन्ताल्या प्याक्ट’ मा सहमति जुट्न नसक्नुले जलवायु उत्तरदायित्व, जीवाश्म इन्धन, वित्त र समन्यायका विषयमा रहेको गहिरो राजनीतिक विभाजनलाई प्रतिबिम्बित गरेको बताएको छ।
“अतिकम विकसित मुलुकहरूका लागि यस सम्मेलनले बढ्दो जलवायु संकटको सामना गर्न आवश्यक पर्ने स्तरको प्रगति दिन सकेन। अनुकूलन वित्तको ठोस लक्ष्यको अभाव, हानि तथा नोक्सानी (लस एन्ड ड्यामेज) सम्बन्धी सीमित उपलब्धि, न्यायोचित रूपान्तरण संयन्त्र (जस्ट ट्रान्जिसन मेकानिजम) सञ्चालनमा भएको ढिलाइ र समग्र राजनीतिक सहमतिमा देखिएको मतभिन्नता गम्भीर चिन्ताका विषय बनेका छन्,” एलडीसी वाचले भनेको छ, “स्वैच्छिक पहल र राजनीतिक घोषणापत्रले मात्र जलवायु संकट समाधान हुन सक्दैन। यसका लागि पर्याप्त सार्वजनिक वित्त, प्रविधि हस्तान्तरण, संस्थागत जवाफदेहिता र प्रभावित समुदायको अर्थपूर्ण सहभागिता आवश्यक छ।”
एलडीसी र अन्य विकासोन्मुख राष्ट्रहरूले आफ्ना राष्ट्रिय निर्धारित योगदान (ल्म्ऋक), राष्ट्रिय अनुकूलन योजना र अन्य जलवायु–सम्बन्धित विकास प्राथमिकताहरू कार्यान्वयन गर्न पूर्वानुमानयोग्य, अतिरिक्त र सहज पहुँचयोग्य सार्वजनिक जलवायु वित्तको माग गरेका छन्। एलडीसी समूहले सन् २०२५ को ४० अर्ब अमेरिकी डलरलाई आधार मानेर सन् २०३५ सम्ममा अनुदानमा आधारित अनुकूलन वित्तलाई तेब्बर बनाई वार्षिक कम्तीमा १२० अर्ब अमेरिकी डलर पुर्याउनसमेत आह्वान गरेको छ।
अन्ताल्यामा वार्ताकारहरू अनुकूलन वित्तको परिमाणात्मक लक्ष्य वा यसको आधार विन्दुमा सहमति जुटाउन असफल रहे भने जलवायु वित्त कार्ययोजनाले पनि स्पष्ट मार्गचित्र दिन सकेन, जसका कारण यससम्बन्धी छलफल सन् २०२८ सम्मका लागि लम्बिएको छ।
यद्यपि, अनुकूलन योजनाहरूलाई व्यवहारमा उतार्न सघाउने गरी ‘एलडीसी विज्ञ समूह’ अन्तर्गत ‘एलडीसी राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन मञ्च’ स्थापना गर्ने र पेरिस सम्झौताको धारा ६.४ अन्तर्गतको कार्बन–क्रेडिट संयन्त्रबाट प्राप्त हुने आम्दानीको एक हिस्सा ‘अनुकूलन कोष’ ले पाउने निर्णयलाई एलडीसीहरूले स्वागत गरेका छन्।
टर्की र अष्ट्रेलियाको सह–अध्यक्षतामा सन् २०२६ नोभेम्बर ९ देखि २२ सम्म टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) निर्धारित समयभन्दा दुई दिन लम्बिएर समापन भएको थियो। वार्ताकारहरूले केही छुट्टाछुट्टै निर्णयहरू पारित गरे तापनि जलवायु कार्यको साझा दिशा तय गर्न प्रस्तावित समग्र राजनीतिक दस्तावेज ‘अन्ताल्या प्याक्ट’ मा सहमति जुटाउन पक्ष राष्ट्रहरू असफल रहे।
एलडीसी समूह, युरोपेली संघ (ईयू), बेलायत, साना टापु राष्ट्रहरूको गठबन्धन (एओसीस), एआईएलएसी, इन्भाएरन्मेन्टल इन्टेग्रिटी ग्रुप, अम्ब्रेला ग्रुपलगायत १२६ देशको गठबन्धनले मस्यौदालाई बलियो बनाउन र यसलाई जीवाश्म इन्धनबाट टाढा जाने प्रतिबद्धतासहितको पहिलो ‘ग्लोबल स्टकटेक’ को नतिजासँग जोड्न दबाब दिएका थिए ।
यद्यपि, पछिल्ला मस्यौदाहरूबाट जीवाश्म इन्धन सम्बन्धी स्पष्ट सन्दर्भ हटाइएपछि युरोपेली संघ, बेलायतलगायतका देशहरूले आपत्ति जनाए भने रुसजस्ता देशहरूले जीवाश्म इन्धन सम्बन्धी स्पष्ट भाषाको विरोध गरे र केहीले कार्बन क्याप्चर तथा भण्डारण प्रविधिमा जोड दिए। अन्टाल्या प्याक्ट पारित हुन नसके पनि ऊर्जा प्रणालीमा जीवाश्म इन्धनको प्रयोग घटाउँदै लैजाने कोप–२८ को प्रतिबद्धता भने अन्तरराष्ट्रिय जलवायु संरचनाको हिस्साका रूपमा कायमै छ।
यूएनएफसीसीसीका कार्यकारी सचिव साइमन स्टिलले राजनीतिक सहमति अवरुद्ध भएकोमा निराशा स्वीकार गर्दै न्यायोचित रूपान्तरण, जलवायु वित्त र अनुकूलनलगायतका व्यक्तिगत वार्ताका विषयहरूमा भने केही प्रगति भएको उल्लेख गरे र बहुपक्षीय प्रक्रियालाई सुदृढ बनाउन यसबाट पाठ सिक्न आग्रह गरे।
वित्त र अनुकूलनमा देखिएको खाडल
वार्ताभरि जलवायु वित्त र अनुकूलनका विषयमा तीव्र मतभेद कायमै रह्यो। सन् २०३५ सम्ममा विकसित देशहरूको नेतृत्वमा वार्षिक कम्तीमा ३०० अर्ब अमेरिकी डलर जलवायु वित्त पुर्याउने र सबै स्रोतबाट वार्षिक १.३ ट्रिलियन डलर जुटाउने बृहत् लक्ष्यसहित कोप–२९ मा सहमति भएको ‘नयाँ सामूहिक परिमाणात्मक लक्ष्य’ लाई आधार मान्दै विकासोन्मुख देशहरूले पेरिस सम्झौताको धारा ९.१ अन्तर्गत विकसित देशहरूको दायित्वमा जोड दिए। साथै, निजी पुँजीमा अत्यधिक निर्भर हुने वा संकटासन्न राष्ट्रहरूमाथि नै बोझ थोपर्ने प्रवृत्तिको उनीहरूले चेतावनी दिए।
हानि तथा नोक्सानी र न्यायोचित रूपान्तरण
जलवायु संकटासन्न राष्ट्रहरूका लागि ‘हानि तथा नोक्सानी कोष’ को विषय उच्च प्राथमिकतामा रह्यो। अन्तिम निर्णयले उपलब्ध स्रोत र बढ्दो आवश्यकताबीचको खाडललाई स्वीकार गर्दै प्रतिबद्धता व्यक्त गरिएको रकम छिटोभन्दा छिटो वास्तविक योगदानमा रूपान्तरण गर्न आग्रह गरे पनि सन् २०२७ मा सुरु हुने कोषको पहिलो पुनःपूर्ति (रिप्लेनिसमेन्ट) अघि ठोस नयाँ वित्तीय प्रतिबद्धता जनाउन भने सकेन। हानि तथा नोक्सानी सम्बन्धी ‘वार्सा अन्तर्राष्ट्रिय संयन्त्र’ को सुशासनसम्बन्धी प्रश्न भने स्थगित गरियो।
सन् २०२६ को विनाशकारी हिमाली बाढीपछि नेपालका लागि यो विषय झन् टड्कारो बनेको थियो। उक्त विपद्पछि नेपाल सरकारले एफआरएलडीबाट २ करोड अमेरिकी डलर माग गरेको सन्दर्भले आफूले ननिम्त्याएको विपद्बाट तंग्रिन संकटासन्न देशहरूले थप ऋणको भारी बोक्नु नहुने एलडीसी वाचको तर्कलाई पुष्टि गर्दछ।
नागरिक समाजले ‘बेलेम–अन्ताल्या संयन्त्र’ भन्ने गरेको ‘न्यायोचित रूपान्तरण कार्ययोजना’ (जस्ट ट्रान्जिसन वर्क प्रोग्राम) मा भएको प्रगति पनि पूर्ण सञ्चालनमा आउन सकेन र यसको संस्थागत व्यवस्था आगामी वार्ताका लागि थाती रह्यो। उल्लेखनीय के छ भने, कोप–३१ को निर्णयमा पहिलो पटक ‘क्रिटिकल मिनरल्स’ (महत्त्वपूर्ण खनिज) को सन्दर्भ समेटिएको छ, तर यसको आपूर्ति शृङ्खलामा मानवअधिकार सम्बन्धी पूर्वसावधानी (ड्यु डिलिजेन्स) का प्रावधान हटाइएकोमा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ।
बोन र कोप–३२ तर्फ सरेका अधुरा एजेन्डाहरू
अन्य थुप्रै वार्ताका विषयहरू पनि गतिरोध वा स्थगनमै टुङ्गिए। कृषि तथा खाद्य सुरक्षा सम्बन्धी ‘शर्म अल–शेख संयुक्त कार्य’ अन्तर्गतका वार्ताहरू अनिर्णीत रहेपछि साना किसानलाई सहयोग, वित्त र व्यापारसम्बन्धी पेचिला प्रश्नहरू आगामी सत्रहरूमा सरेका छन्।
समापन पूर्ण बैठकमा साउदी अरब र रुसको आपत्तिका कारण ‘न्यूनीकरण कार्ययोजना’ (मिटिगेसन वर्क प्रोग्राम) लाई सन् २०३० सम्म लम्ब्याउने मस्यौदा पारित हुन सकेन भने युरोपेली संघ, क्यानडा र बेलायतको आपत्तिका कारण सीमापार व्यापार प्रभावसम्बन्धी ‘रेस्पोन्स मेजर्स’ सम्बन्धी निर्णय पनि अवरुद्ध भयो।
त्यसैगरी, जलवायु सूचनाको सत्यनिष्ठा र लैङ्गिक–उत्तरदायी भाषासम्बन्धी पाठमा रुसले आपत्ति जनाएपछि सन् २०२७–२०३१ को नयाँ ‘एक्सन फर क्लाइमेट इम्पावरमेन्ट’ कार्ययोजना सन् २०२७ जुनमा हुने बोन वार्तासम्मका लागि स्थगित गरिएको छ।
औपचारिक सन्धि निर्णयहरू बाहेक करिब ८० देशले सन् २०३५ सम्ममा अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउने टर्कीको अध्यक्षताको ‘३५ बाई ३५’ विश्वव्यापी विद्युतीकरण पहललाई समर्थन गरेका छन् भने ‘ग्लोबल इम्प्लिमेन्टेसन एक्सेलेरेटर’ औपचारिक रूपमा सुरु गरिएको छ। तथापि, सन् २०२७ को बोन वार्ता र कोप–३२ तर्फ ध्यान केन्द्रित भइरहँदा यस्ता स्वैच्छिक पहलहरूले बाध्यकारी सार्वजनिक वित्त र समन्यायिक कार्यको स्थान लिन नसक्ने एलडीसी वाचको ठहर छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



