शनिबार, जेठ ५, २०८१
09:30 | १४:१५

विरक्त लाग्यो नेपाली दूतावासको हालत देखेर

अन्जना गुरुङ डिसेम्बर १८, २०२१

लन्डन । गत १४ डिसेम्बरका दिन आफ्नो काम विशेषले लन्डनस्थित नेपाली राजदूतावास पुगेको थिएं झण्डै ४ वर्षपछि । एकजना सेवाग्राहीको हैसियतमा मैले सेवा चित्तबुझ्दो पाएं, त्यसका लागि म दूतावासप्रति आभारी छु ।

तर, अण्डरग्राउण्डको भौतिक पूर्वाधार देखेर म विरक्त भएं । केही तीतो अनुभव यहां पाठकहरु समक्ष राख्ने प्रयत्न गरेको छु । मलाई थाहा छ आलोचना, गुनासो र कमीकमजोरी औंल्याउंदा सम्बन्धित पक्षलाई त्यो राम्रो नलाग्न सक्छ । यद्यपि म भने यसलाई सुधारको कारक मान्छु, दूतावासले पनि सकारात्मक नै लिनेछ भन्ने मेरो विश्वास छ ।

म एक सर्वसाधारण महिला हुं, म कुनै राजनैतिक दलसंग आवद्ध छैन् । म एनआएनए पनि होइन । म कुनै पत्रकार पनि होइन । म नेपाललाई औधि माया गर्ने एक नेपाली हुं । त्यसकारण दूतावासको दुरावस्था देखेपछि केही नबोलिरहन सकिन ।

दूतावास भवनको प्रेक्षालय, अतिथी सत्कार कक्ष, 
प्रवेशद्धार उभिएर खिचेका तस्बिरमा त बडो सुन्दर लाग्छ दूतावास । हुन पनि क्राउन प्रोपर्टी लन्डनको मुटुमै छ भवन । हामी भाग्यमानी पनि हौं कि कयौंपटक त्यस्तो ऐतिहासिक भवन विक्रीका लागि प्रयत्न गरिए पनि अझै जोगिएको छ ।

दूतावासले प्रदान गर्ने सबै सेवा भुईंतलाबाटै हुन्छ । काम लिएर विदेशीदेखि नेपालीहरु सबैभन्दा धेरै ओहोरदोहोर गरिरहने अण्डरग्राउण्ड भने ज्यादै विरक्तलाग्दो पाएं ।

शौचालयको सफाइमा पटक्कै ध्यान दिइएको देखिन । दुर्गन्धले नाक मुख थुन्नु पर्ने । कता कता रत्नपार्कको ट्वाइलेट झैं झझल्को आयो । मलाई यतिसम्म भयो कि मोप र केमिकल बोकेर आफैं सरसफाइ गर्न कस्सिउं । थोरै मेहनत गरे त ट्वाइलेट सफा रहन्थ्यो नि । आफू बस्ने घर झैं दिनरात साफसफाइमा ध्यान दिइए यो ठूलो समस्या पनि होइन ।

कृपया शौचालयको सरसफाइमा अलिकति ध्यान दिनुहोला । विदेशीका लागि शुरुमै इम्प्रेसन बिग्रियो भने कस्तो नकरात्मक सन्देश जाला ।

सबै भुईंमा पनि एकपटक डिपक्लीन गर्नुपर्ने बेला आएको देखें । चियापानी खाने ठाउं पनि फोहोर देखिन्थ्यो ।

यसबाहेक दूतावासको वर्षांै पुरानो समस्या अझै सल्टिएको रहेनछ । बेलायत जस्तो ठाउंमा पनि एम्बेसीले कार्ड पेमेन्ट प्रणाली किन शुरु नगरेको होला ? वा नसकिने अवस्था के ले आएको होला ? प्रश्न आफैंसंग सोधें ।

सबैसंग नगद नहुन सक्छ, फेरि क्यास निकाल्न १० मिनेट हिंडेर बाहिर आउनु पर्छ । जाबो एउटा सानो ग्रोसरी सपले त एक, दुई पाउण्ड पनि मेसिनबाट लिन्छ भने हाम्रो एम्बेसीमा किन चल्दैन कार्ड मेसिन ?

कुनै कुनै दस्तुर अनलाइनबाट तिरेपनि कत्ति चाहिं क्यास गर्नु पर्ने आखिर किन होला ?

अर्को कुरा केही कागजात प्रिन्ट गर्नु परे प्रिन्टर र फोटोकपी मेसिन पनि छैन् । सिक्का राखेर फोटोकपी वा प्रिन्ट गर्न सकिने व्यवस्था गरिदिए दूतावासलाई थप आम्दानी पनि हुन सक्छ नि ।

एनआरएनका कथित नेताहरु नेतृत्व गर्ने बेलामा तंछाडमछाडतिर लाग्छन्, दूतावासको सम्मानमा टाइ सुट लगाएर पुगिहाल्छन् । उनीहरुलाई स्टेज र अगाडिको सिट पनि सुरक्षित गरिदिनुपर्छ । तर हजारौं सेवाग्राही लाभान्वित हुने विषयमा चुक्क बोल्दैनन् ।

तल भुईंतलामा एउटा हिटर पनि नभएको जस्तो लाग्यो । बेलायत जस्तो चिसो ठाउंमा हिटर बिना कस्तो होला अवस्था ।

नेपाल सधैं गरिब, नेपाली सबै गरिब अनि सरकारी काम सबै गएगुज्रिएको भन्न किन रुचाउंछौं हामी ? थोरै ‘इफोर्ट’ गरे त सबै सिस्टममा आइहाल्छ नि ।

दूतावासका कर्मचारीज्यूहरु सबै सभ्य नै हुनुहुन्छ । आदरपूर्वक बोल्नुहुन्छ । सकेसम्म काम छिटो 
पार लगाइदिनुहुन्छ । त्यसको हामीले प्रशंसा गर्नै पर्छ । तर, यो मेरो आवाज खाली सुझावका रुपमा लिइदिनु होला ।

नेपाललाई माया गर्ने अन्जना गुरुङ

लन्डन

अन्जना गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू