मंगलबार, १६ सेप्टेम्बर, २०२५
15:05 | १९:५०

लन्डन प्लमस्टिडमा हुँदैछन् ‘दुश्मन हेरेको हेर्‍यै’, दुर्गेश र सिसनले प्रस्तुति दिने

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२५

लन्डन- सांगीतिक कार्यक्रमका लागि हाल बेलायतमा रहेका गायक दुर्गेश थापाले साउथ इष्ट लन्डनमा पनि प्रस्तुति गर्ने भएका छन्।

यही सेप्टेम्बर २१ आइतबार साँझ प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा दुर्गेश थापा र सिसन बानियाको प्रस्तुतिमा ‘दुश्मन हेरेको हेर्‍यै’ शो हुने भएको हो।

लाइम एण्ड लेमन इन्टरटेन्मेन्ट यूके र सनराइज इभेन्ट्सको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो। कार्यक्रम साँझ ६ बजे शुरु हुनेछ।

कार्यक्रममा दर्शकका लागि दुर्गेश र सिसनले मनोरन्जनको एक पूर्ण प्याकेज पस्किने आयोजकले जनाएका छन्। उनीहरुको प्रस्तुतिअघि स्थानीय ब्याण्ड ‘आफ्टरम्याथ’ ले ओपनिङ प्रस्तुति गर्दै शो शुभारम्भ गर्नेछ। कार्यक्रम स्वस्ति खड्काले सञ्चालन गर्नेछिन्।

कार्यक्रमको टिकट शुल्क अग्रिम बुक गर्दा २० पाउण्ड छ भने कार्यक्रमका बेला गेटमै लिंदा २५ पाउण्ड लाग्नेछ। १० वर्ष मुनिका बालबालिकालाई भने मात्र १० पाउण्ड लाग्नेछ।

पछिल्लो समयका सर्वाधिक चर्चित र लोकप्रिय गायक तथा पर्फमर दुर्गेश थापा बेलायतका आधा दर्जन बढी स्थानमा आफ्नो सांगीतिक कार्यक्रम गर्न बेलायत आएका हुन्। उनलाई साथ दिन लोकप्रिय मिडिया पर्सनालिटी सिसन बानिया पनि आइपुगेका छन्।

कार्यक्रमस्थलमा दर्शक सुविधाका लागि नेपाली खाना र पेय पदार्थ उपलब्ध गराउने स्टल पनि रहनेछ।

कार्यक्रम सांगीतिक मनोरन्जनका साथै आउंदै गरेका दशैं-तिहारलगायतका पर्वको शुभकामना आदानप्रदान र हालैको जेनजी आन्दोलनमा दिवंगत शहीदहरुको स्मृतिमा समेत समर्पित रहने आयोजकले बताएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू