शनिबार, जेठ ५, २०८१
08:38 | १३:२३

बेलायतमा महामारीयताकै बढी संक्रमण

रासस-एएफपी डिसेम्बर १६, २०२१

लन्डन, १ पुस– बुधवार बेलायतमा ७८ हजार भन्दा धेरै मानिसमा कोभिड पुष्टि भएको छ । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका संक्रमितको यो सर्वाधिक संख्या हो ।

संक्रमण नियन्त्रणका लागि लकडाउन भइरहेका समय यसअघि गत जनवरीमा एकैदिन सबैभन्दा धेरै ६८ हजार संक्रमित पुष्टि भएको थियो ।

इङ्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटीले संक्रमितको त्यस्तो उच्चसंख्या आउँदा केही सातामा कम हुने बताएको बीबीसीले उल्लेख गरेको छ ।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले संक्रमण फैलिइरहेको समय क्रिसमस पनि परेको र यतिबेला जमघट गर्नुअघि मानिसहरूले के कुरा महत्वपूर्ण हो भन्ने प्राथमिकता निर्धारण गर्न सक्नुपर्ने बताए ।

उक्त अवसरमा बोल्दै प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको अतिरिक्त (वुस्टर) मात्रा लिनु निकै महत्वपूर्ण रहेको बताए । उनले केही ठाउँमा दुई दिनभित्रै संक्रमितको सङ्ख्या दोब्बर भएको पाइएको बताए ।

कोभिड र यसको पछिल्लो संस्करण ओमिक्रोन संक्रमण बढ्दै जाँदा राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिशतले र लन्डनमा झन्डै एकतिहाइले बढेको देखिएको उनले बताए ।

प्राध्यापक विटीले यतिखेर यूकेले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताए । उनका अनुसार उक्त प्रकोप अहिले निकै छिटो फैलिरहेको ओमिक्रोन र पहिलादेखि फैलिरहेको डेल्टा भेरिअन्टका कारण बनेको हो ।

बेलायतमा विगत २८ दिनमा कोभिड पुष्टि भएका मानिसमध्ये १६५ जनाको मृत्यु भएको आधिकारिक तथ्यांक छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू