शनिबार, वैशाख १५, २०८१
22:00 | ०२:४५

अध्यागमनबाट फर्काइए दुबई जान लागेका ७६ यात्रु

रासस डिसेम्बर ७, २०२१

काठमाडौं । ललितपुरस्थित एक सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ ।

उनीहरु विदेश जानुको उद्देश्यप्रति शंका देखिएपछि फर्काइएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए ।

‘केही आशंका लागेपछि हामीले कागजपत्र माग्यौँ, चिट्ठी लेखेर सहकारीबाट जानकारी माग्छौँ भनेपछि उनीहरु डराए, कतिले त त्यसो भए हामी फर्कन्छौँ भनेर पनि फर्किए’, शाहीले भने । यसरी विदेश जान लागेकामा ७० प्रतिशत महिला छन् ।

उनीहरु ललितपुरको शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट दुबई जान लागेको पत्र ल्याएको विभागले जनाएको छ । ‘उनीहरु सम्पर्कमा आएको तर घटना मिलाउन खोजेको जस्तो देखिन्छ, कैफियत देखियो भने अधिकार प्राप्त संस्थाबाट अनुसन्धान हुन्छ’, शाहीले थपे ।

उक्त विषयमा विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन विभाग र गृहमन्त्रालयमा लिखित जानकारी गराउने शाहीले बताए । सो विषयमा आज मात्रै नेपाल वायुसेवा निगमनबाट जानकारीसहितको पत्र प्राप्त भएको जनाइएको छ ।

उनीहरु आइतबार राति त्रिभुवन विमानस्थलबाट दुबई उड्दै थिए । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले केही परिवारसहित आएका व्यक्तिहरु भने प्रमाणका आधारमा विदेश पठाइएको जानकारी दिए । ‘सहकारीको लेटरप्याडबाट विदेश जान लागेका थिए’, महानिर्देशक भट्टराईले भने, ‘उनीहरु विदेश जानुको उद्देश्य के थियो, त्यसरी भ्रमण गर्ने अधिकार छ कि छैन्, छ भने स्थानीय तहले नियमन गर्ने सहकारीले त्यहाँबाट आधिकारिक अनुमति प्राप्त गरेको हो कि होइन भन्ने जोडिन्छ ।’

उनका अनुसार नियमन गर्ने निकायबाट अनुमति लिएर ल्याउन भनेर फर्काइएको हो । ‘हाम्रो उद्देश्य कोही पनि विदेश गएर अलपत्र नपरुन् भन्ने हो’, भट्टराईले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू