शुक्रबार, चैत १६, २०८०
21:05 | ०२:५०

लन्डनमा एमएमएमा प्रोफेशनल ‘डेब्यू’ गर्दै नेपाली युवा

नेपाली लिङ्क नोभेम्बर २९, २०२१

लन्डन । जापनिज नाम भएपनि यूकी आङ्देम्बे नेपाली हुन् । बेलायतमा मिक्सड मार्सल आर्ट्स (एमएमए) अर्थात ‘केज फाइट’ पनि भनिने खेलमा सफलता चुमिरहेका २२ वर्षीय युवा यूकीले आउंदो १० डिसेम्बरमा लन्डनमा प्रोफेशनल ‘डेब्यू’ गर्दैछन् । योर्क हलमा उनको म्याच तय छ ।

‘पूर्ण तयारी गरिरहेको छु, चुनौति छ तर उत्साहित पनि छु’, यूकीले भने, ‘ट्रेनिङ पार्टनर व्यवसायिक र अनुभवी भएकाले राम्रो प्रशिक्षण पाएर म्याच जित्ने विश्वास पनि छ ।’

नेपालीमा सहन शक्ति र आंट बढी हुने भएकाले खेलमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने आत्मविश्वास उनमा छ ।

ग्रेट ब्रिटेन टप टिमबाट प्रतिनिधित्व गर्दै केज फाइटमा उत्रिएका उनी अहिले ग्रेट ब्रिटेन टप टिम एमएमए जिम साउथ लन्डनमाबिहान, दिउसो गरि दैनिक ४ घण्टा प्रशिक्षण लिइरहेका छन् । बेलायतमा अमेचर खेलाडीका रुपमा ७ वटा खेल जितिसकेका उनी यूके, आयरल्याण्डको ५ औं तहसम्म पुग्न सफल भएका थिए ।

दमक झापामा जन्मिएका उनी १० वर्ष छंदा ब्रिटिश लाहुरे बाबु र आमासंगै बेलायत आए । उनले हरेक खेलमा नेपाली झण्डा बोकेर नेपालका लागि प्रतिनिधित्व गरेका छन् ।

‘म अंग्रेजको देशमा बसेपनि मेरो रगत र मन मुटुमा नेपाल छ, मलाई नेपाली हुनुमा गर्व छ’, उनी भन्छन्, ‘गोर्खाली इतिहास र साहस विश्वभर सम्मानित छ । म बाबु बाजेको इज्जत जोगाउंदै नेपाललाई खेलका माध्यमबाट अझ बढी चिनाउन चाहन्छु ।’

एमएमए खेल चुनौतिपूर्ण ठान्छन् उनी । ‘यसमा बक्सिङ, रेस्टलिङ, जुडो, कराते, थाइ बक्सिङ आदि खेलको टेक्निक सम्मिश्रण हुने भएकाले बढी चनाखो हुन जरुरी छ’, यूकी भन्छन् ।

खेलले आफ्नो स्वास्थ्यमात्र नभइ अनुशासन हुन र कडा परिश्रम गर्न सिकाउने बताउंदै मार्केटिङ ग्रयाजुएट विद्यार्थी यूकी अध्ययन गरेर पनि खेलमा लाग्न सकिने बताउंछन् ।


यूकीको म्याचमा बेलायतको फाइनान्सियल कम्पनी ए स्टार फाइनान्सियल सोलुसन्स् यूके अफिसि यल स्पोन्सर छ । ए स्टारका प्रवन्ध निर्देशक मीन दर्लामीले यूकीलाई प्रोत्साहनस्वरुप आफूले आर्थिक सहयोग गरेको बताए ।

‘यसबाट हाम्रो सामाजिक उत्तरदायित्वको भूमिकाबाहेक बेलायतमा हुर्किरहेका नयां पुस्तालाई खेलतिर प्रेरित गर्ने सोच पनि हो’, दर्लामीले भने ।

यही डिसेम्बरमा १० औं वार्षिकोत्सव मनाउन लागिरहेको ए स्टारले यसअघि आदिप रानालाई पनि किक बक्सिङ म्याचमा प्रायोजन गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू