बिहीबार, वैशाख ६, २०८१
03:39 | ०८:२४

बेलायतमा एकैदिन ५० हजार बढी संक्रमित, थपियो ‘रेड लिष्ट’ को संख्या  

नेपाली लिङ्क नोभेम्बर २६, २०२१

लन्डन । बेलायतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । विगत केहि दिनयता दैनिक ४० हजारमाथि संक्रमित रहँदै आएकोमा शुक्रबार यो संख्या ५० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको शुक्रबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५० हजार ९१ नयाँ संक्रमित फेला परेका छन् । यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ७० हजार ८४१ पुगेको छ ।

पछिल्लो पटक अहिलेसम्मकै घातक भनिएको नयाँ कोभिड भेरिएन्टको संक्रमण बढ्दै गएपछि सतर्कता अपनाउन वैज्ञानिकहरुले चेतावनी दिएका छन् । सर्वप्रथम बोत्स्वाना, साउथ अफ्रिका र हंगकंगमा फेला परेको यो नयाँ भाइरस अहिले इजिप्टबाट बेल्जियम आएका व्यक्तिमा समेत देखिएको छ, जसले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् ।

संक्रमण नियन्त्रण गर्ने क्रममा बेलायतले साउथ 
अफ्रिका, नामिबिया, जिम्बावे, लेसोथो, बोत्सवाना, एस्वाटिनी गरि ६ मुलुकलाई आइतबार बिहान ४ बजेबाट यात्रा प्रतिबन्धको रेड लिष्ट सूचीमा राखेको छ । सरकारले बेलायतमा सतर्कता अपनाउनुपर्ने भन्दै खोपलाई अझ तीव्रता दिने बताएको छ । बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले यो अन्तरराष्ट्रिय चासोको विषय रहेको बताएका छन् ।

यसैबीच, कोरोनाका कारण बितेको २४ घन्टामा १६ जनाको मात्र गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एकसातामा बेलायतमा ८७७ जना संक्रमितको ज्यान गएको छ ।

यससंगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४४ हजार ५९३ पुगेको छ ।

बेलायतमा अहिले २९.२ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात बुष्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

शुक्रबारसम्मको तथ्यांक अनुसार यहाँ एक करोड ६७ लाख ७९ हजार ६५६ जनाले उक्त बुष्टर डोज लिइसकेका छन् । पछिल्लो २४ घन्टामा तीन लाख ९६ हजार भन्दा बढीले बुष्टर डोज लगाएका छन् ।

त्यसैगरी पाँच करोड ८ लाख ७५ हजार ७१२ जना अर्थात ८८.५ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ६२ लाख ५५ हजार ८१ जना अर्थात ८०.४ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू