बुधबार, वैशाख २६, २०८१
19:10 | २३:५५

युरोप कोरोना महामारीको केन्द्र बन्ने डब्लुएचओको चेतावनी

रासस/सिन्ह्वा नोभेम्बर ५, २०२१

कोपेनहेगन–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोपेली देश फेरि पनि कोरोनाभाइरसको महामारीको केन्द्र बन्न थालेको जनाएको छ ।

संगठनका युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगले युरोपेली क्षेत्रमा महामारीको विषय सन्तोषजनक अवस्थामा नरहेको जानकारी दिए ।

बिहीवार सार्वजनिक भएको तथ्यांकले अघिल्लो बर्षकै अवस्थामा महामारी फर्किएको देखाएको उनले उल्लेख गरे ।

“हामी महामारीको फेरि अर्को संकटपूर्ण र चिन्ताजनक अवस्थामा आइपुगेका छौँ,” भर्चुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा उनले भने ।

अहिले फेरि फर्किएको महामारी अघिल्लो वर्षको ‘रेकर्ड’ समेत तोड्न सक्ने खतरा रहेको पनि उनले औंल्याए । पछिल्लो समयमा युरोपेली क्षेत्र अन्तर्गत पर्ने विभिन्न देशमा संक्रमितको संख्या बढ्दै गइरहेको उनले बताए ।

गत हप्ता मात्रै युरोपेली क्षेत्रमा दश लाख ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए भने २४ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको थियो ।

“कोरोनाभाइरसबाट मृत्यु भएका र संक्रमित भएकाको यो सङ्ख्या अनुमान गरेभन्दा धेरै र फरक हो,” क्षेत्रीय निर्देशक क्युगले भने ।

उनले आगामी दिनमा पनि कल्पना गरेभन्दा तीव्र गतिमा महामारी फैलिन सक्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने र हेलचक्रयाई गर्न नहुनेमा जोड दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू