बिहीबार, वैशाख १३, २०८१
14:11 | १८:५६

एनआरएनए आइसीसी कार्यकाल ६ महिना थप, निर्वाचन नोभेम्बरभित्रै

नेपाली लिङ्क अक्टोबर १७, २०२१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा वर्तमान अध्यक्ष कुमार पन्तको नेतृत्वले निरन्तरता पाउने भएको छ ।

संघको शनिबार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेपछि पन्तले कम्तिमा ६ महिनासम्म निरन्तरता पाउने भएका छन् । संघका सचिव गौरीराज जोशीले  सो जानकारी दिएका हुन् ।

कुमार पन्तको अध्यक्षतामा बसेको भर्चुअल बैठकले संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्बरभित्र गर्ने निर्णय गरेको छ। यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो।

मन्त्रालयको पत्रपछि २३ देखि २५ अक्टोवरका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो । बैठकले महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ।

बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिब १०० भन्दाबढी सदस्यहरुले आआफ्ना भनाई राखेका थिए । अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

संघका महासचिव डा हेमराज शर्माका अनुसार संघको महाधिवेशनमा पेश हुने वार्षिक तथा आर्थिक प्रतिवेदन समेत संघको विधान अनुसार १ महिना अगावै सार्वजनिक भइसकेका छन्। संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनका लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरु चयन भइसकेका छन्।

संघको विधानअनुरुप यसअघि नै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद् सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजक सहित ४८ जना पदाधिकारी निर्वाचित हुनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू