शुक्रबार, चैत १६, २०८०
05:20 | ११:०५

गोर्खा अधिकारका लागि एक्लै लडेका अभियन्ता कमल पूर्जा

नेपाली लिङ्क अगस्ट २, २०२१

लन्डन । भूतपूर्व गोर्खाहरु यतिखेर आफ्नो अधिकारका लागि आन्दोलित भइरहेका छन् । बेलायती प्रधानमन्त्री कार्यालय अगाडि रिले अनसन जारी छ भूपू गोर्खाहरुको । 

बेलायत सरकारले उनीहरुका माग नसुने पनि बेलायती नागरिक र अन्य समुदायको साथ पाइरहेका छन् गोर्खाहरुले । तर सन् २००७ तिर गोर्खा अधिकारका लागि एक्लै होमिएका अभियन्ता हुन् कमल पूर्जा । 

बिगेड अफ गोर्खाजमा सन् १९८९ मा भर्ती भइ १७ वर्ष सेवा गरेर अस्वस्थताका कारण मेडिकल्ली रिटायर्ड भएपछि पूर्जा गोर्खा हक अधिकारका लागि बेलायती रक्षा मन्त्रालयविरुद्ध लडने तीनजना नेपाली अवकासप्राप्त गोर्खामध्ये एक हुन् । 

असक्त अवस्थामा पनि उनलाई बेलायतले गोर्खामाथि गरेको भेदभाव असहय लाग्यो र उनी मैदानमा उत्रिएका थिए । तर विडम्बना उनलाई त्यतिबेला साथ सहयोग गर्ने कोही थिएनन् । गोर्खा हकहितका लागि खुलेका गोर्खा संस्थाहरु गेसो, बिजिडब्लुएस, नेसा हुन् वा गोर्खा अगजहरु । कसैले पनि आफूलाई वास्ता नगरेको तीतो अनुभव स्मरण गर्छन् कमल पूर्जा । 

‘म त्यतिखेर सहयोगका लागि कहां पुगिन् तर कसैले वास्ता गरेन’, उनी गुनासो गर्छन्- ‘अहिले जस्तो आम पब्लिक र संघसंस्थाको सहयोग अनि ऐक्यवद्धता पाएको भए गोर्खाहरुको समान पेन्सन मुद्दाले अर्कै मोड लिन सक्थ्यो ।’

अप्टिकल कोर्सको तालिमका क्रममा दुर्घटनामा परेपछि स्पाइनल कर्ड डयामेज भएर उनी आजीवन अपांग बने । तर, अधिकारका लागि आन्दोलनमा उनी कहिल्यै विचलित भएनन् । ‘म गोर्खा दाजुभाईहरुले समान पेन्सन पाउनुपर्छ भन्नेमा सधैं लडिरहें र लडिरहनेछु’, पूर्जा भन्छन्, ‘गोर्खा आन्दोलन व्यवस्थित र योजनावद्ध तरिकाले लैजान जरुरी छ । गोर्खा संगठनहरु एक नभइ आन्दोलनले सार्थकता पाउंदैन भन्ने मेरो बुझाइ छ ।’ कूटनीतिक वार्तामार्फत समाधानको विकल्प देख्छन् उनी ।  

आपतविपतमा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले कमल पूर्जाले मद्दत समूह स्थापना गरेका छन् । उनी उक्त परोपकारी संस्थाको संस्थापक हुन् । जन्मस्थल म्याग्दी दाना होस् वा बेलायतको नेपाली समुदाय, उनी सहयोगका हात फैलाउन कहिल्यै पछाडि पर्दैनन् ।  

इष्टली गोर्खा नेप्लिज एसोसिएसनको फार्म प्रोजेक्ट इन्चार्ज पूर्जा बेलायतस्थित कयौं नेपाली संघसंस्थामा आवद्ध छन् । उनलाई सास रहुन्जेल समाजसेवा गर्न मन छ । ‘हामी परदेशी भूमिमा छौं । सकेसम्म अप्ठेरो परेका बेला नेपालीलाई सहयोग गर्नु आफ्नो दायित्व सम्झनुहोस्’ उनको कामना छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू