मंगलबार, वैशाख ११, २०८१
12:58 | १७:४३

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खाहरुको रिले अनसन

नेपाली लिङ्क जुलाइ २१, २०२१

लण्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतले  आफ्ना मागप्रति वेवास्ता गरेको भन्दै बुधबार दिउसो एक बजेदेखि लण्डनमा रिले अनसन गर्ने भएको छ । 

समान पेन्सन लगायत अधिकारको माग गर्दै आन्दोलनरत  समितिले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनसन गर्ने भएको हो । 

शुरुमा १३ जना भिसीको नाममा १३ दिने रिले अनसन र त्यस पछि भोक हड्ताल गरिने समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए ।

गोर्खा अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घले आमरण अनसनमा बस्न राजी भएका छन् । भूतपूर्व गोर्खाहरुले अबको आन्दोलन निर्णायक हुने दावी गर्दै आएका छन् ।

यसअघि नेपाल सरकारले समितिलाई पत्र पठाउँदै गोर्खा मुद्दा समाधानका लागि बेलायत सरकारसँग प्रत्यक्ष रूपमा वार्ता गर्न पहल गरिरहेको जानकारी दिएपछि समितिले जुलाइ १ देखि गर्ने तय गरेको आमरण अनसन तीन साता स्थगन गरेको थियो ।  

गोर्खा संगठनमै दुई मत   

 समितिले आफ्ना मागप्रति बेलायतले वास्ता नगरेको भन्दै  अनसन बस्ने तयारी गरिरहंदा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) र ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्ल्यूएस) ले भने एक विज्ञप्ति जारी गर्दै अनसनको सट्टा वार्ताबाटै समस्या समाधान गर्न जोड दिएका छन्।

गत आइतबार लण्डनस्थित नेपाली दूतावासमा गोर्खा मुद्दाबारे  छलफल हुँदा राजदूत लोकदर्शन रेग्मीले समस्या समाधानका लागि नेपाल सरकारले पहल गरिरहेको जनाउँदै अनसन नबस्न सुझाएका र अन्य सहभागीले समेत त्यो उचित विकल्प नभएको   बताएका विज्ञप्तिमा छ । 

गेसोले पहिले पनि अनसन जस्ता कार्यक्रमबाट गोर्खाप्रतिको विश्वास र प्रतिस्ठा घट्ने भन्दै विरोध गर्दै आएको छ ।  

संयोजक राईले भने गेसोको एउटा समूहबाहेक सबै ५ गोर्खा  

संगठन एकै ठाउँमा रहेको बताए । ‘हामी कूटनीतिक पहल र वार्ता भन्दा भन्दै ३२ बर्ष बिताइसक्यौं । अब कति कुरेर बस्ने ?’ उनले प्रश्न गरे ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू