बिहीबार, वैशाख १३, २०८१
05:07 | ०९:५२

अमेरिकाबाट १५ लाख ३४ हजार खोप सहयोग, ५० देखि ५४ उमेर समूहलाई दिइने

रासस जुलाइ १२, २०२१

अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड १९ विरुद्धको खोप सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्दै नेपालका लागि अमेरिकी राजदूत रयाण्डी बेरी । तस्बिर- प्रदीपराज वन्त/रासस

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी सरकारले उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप आज नेपालस्थित अमेरिकी राजदूत रयाण्डी बेरीले हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई राजदूत बेरीले खोप हस्तान्तरण गरे । आज बिहान पौने १० बजे कतार एयरवेजमार्फत खोप नेपाल आइपुगेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले खोपले नेपाली जनतालाई कोरोना भाइरसबाट बचाउन सहयोग मिल्ने बताए । उनले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा पुरयाइएको सहयोग तथा राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई गरेको आग्रहबमोजिम कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन ऐक्यबद्धता जनाएकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै खोप उपलब्ध गराइएसँगै अमेरिकासँगको नेपालको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीका अनुसार उपलब्ध गराइएको खोप प्राथमिकतानुसार ५० देखि ५४ वर्ष उमेर समूहका सर्वसाधारणलाई निःशुल्क दिइने छ । प्रधानमन्त्री ओलीले कोभिड–१९ संक्रमणपछि मुलुक आर्थिक समृद्धिमा लाग्ने बताए ।

कार्यक्रममा राजदूत बेरीले खोपबाट नेपाली जनतालाई सङ्क्रमणबाट जोगाउने सकिने बताए । उनले कोभिड–१९ को लडाइँमा अमेरिकी सरकारले नेपाललाई सहयोग पुरयाउँदै आएको जनाउँदै महामारीविरुद्धको लडाइँमा सबै एक जुट हुनुपर्ने बताए ।

अमेरिकी सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि भेन्टिलेटर, मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको हो । सो खोप एक पटक लगाए पुग्छ ।

यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आइसकेको छ । नेपालमा अहिलेसम्म भारतबाट कोभिशिल्ड र चीनबाट भेरोसेल खोप आइसकेको छ । नेपाललाई हालसम्म ६० लाख मात्रा खोप प्राप्त भएको छ । खोप हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठको सहभागिता थियो ।

अमेरिकाको सात करोड डलरभन्दा बढी योगदान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अमेरिकी सरकारबाट उपहारस्वरुप प्रदान गरेको जोन्सन एन्ड जोन्सन कोभिड १९– विरुद्धको खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसङख्यामन्त्री कृष्णगोपाल श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत रयान्डी बेरी । तस्बिर- रोशन सापकोटा/रासस

संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत रयान्डी बेरीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे ।

हस्तान्तरणपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्राप्त खोप नेपाली नागरिकको जीवनरक्षाका लागि वरदान सावित हुने बताए । एक मात्रा मात्र लगाए पुग्ने सो खोप ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकताका आधारमा लगाइने योजना रहेको उनले जानकारी दिए ।

अमेरिकाले यसअघिदेखि नै नेपाललाई कोरोनाको उपचार र रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिरहेकामा मन्त्री श्रेष्ठले आभार व्यक्त गरे । ‘कोरोनाको नियन्त्रणका लागि खोप नै उत्तम विकल्प हो, ७२ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप लगाउने गरी सरकारले आवश्यक तयारी गरेको छ’, उनले भने ।

पत्रकार सम्मेलनमा राजदूत बेरीले नेपाली जनताको जीवनरक्षाको एक मात्र उद्देश्यले खोप उपलब्ध गराइएको बताउँदै यसले नेपाललाई अहिलेको महामारीबाट बाहिर निस्कन सहयोग गर्ने विश्वास व्यक्त गरे । कोभ्याक्सको गौरवशाली सदस्यका रुपमा अमेरिकाले दुई अर्ब डलरको अनुदान उपलब्ध गराएको अवगत गराउँदै उनले त्यस सहयोगबाट न्यून तथा मध्यम आय भएका मुलुकमा खोप आपूर्ति हुने बताए ।

राजदूत बेरीले आजसम्म अमेरिकाले नेपालको कोभिड प्रतिकार्यका लागि सात करोड अमेरिकी डलरभन्दा बढी योगदान गरिसकेकोसमेत जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू