मंगलबार, वैशाख ११, २०८१
08:58 | १३:४३

इंग्ल्याण्डमा दुवै डोज खोप लगाएकाले आइसोलेसन बस्नु नपर्ने

१८ वर्ष भन्दा कम उमेरले पनि आइसोलेशन नपर्ने

नेपाली लिङ्क जुलाइ ६, २०२१

लन्डन– कोरोनाविरुद्ध खोपको दुवै डोज लगाएका इंग्ल्याण्डवासीहरुले आइसोलेसनमा बस्नु नपर्ने भएको छ । यही जुलाई १६ बाट लागू हुने गरि १८ वर्ष भन्दा कम उमेरका र खोपको दुवै डोज लगाइसकेका व्यक्तिहरुले आइसोलेसन बस्नु नपर्ने भएको हो ।

कोरोना संक्रमितको सम्पर्कमा आएपनि कोरोना पोजिटिभ नभएसम्म आइसोलेसन बस्नु नपर्ने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । जसका लागि  खोपको दोस्रो डोज लगाएको कम्तिमा दुई हप्ता भइसकेको हुनुपर्नेछ । तर, खोप लगाएका वा नलगाएका जो कोहीलाई कोरोना पोजिटिभ देखिएमा भने सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।

पछिल्लो समय बेलायतमा संक्रमणदर बढेपनि मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्या अत्यन्त न्यून भएकाले खोपमाथिको विश्वसनीयता बढेको छ । इंग्ल्याण्डमा खोपको दुवै डोज लगाएकाहरुलाई विभिन्न क्षेत्रमा थप सहज गरिने अधिकारीहरुले बताउंदै आएका छन् । दुवै डोज खोप लगाएका अन्तरराष्ट्रिय उडानबाट आएका यात्रुहरुका सम्बन्धमा पनि सरकारले थप सहज पार्ने बताएको छ ।

इंग्ल्याण्डमा विगत लामो समयदेखि जारी लकडाउन पनि यही जुलाई १९ देखि पूर्णरुपमा अन्त्य गरिने प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार बताएका थिए । गत महिना नै लकडाउन अन्त्य गर्ने सरकारी रोडम्याप तय भएपनि ‘डेल्टा भेरियन्ट’ को संक्रमण तीव्र रुपमा बढेपछि चार हप्ता पछि धकेलिएको थियो ।

पछिल्लो तथ्यांकलाई मध्यनजर गर्दै आउँदो हप्ता समिक्षा गरेर लकडाउन सम्बन्धि विस्तृत जानकारी गराइने भएको छ । जुलाई १९ देखि ६ जना भन्दा बढी जमघट गर्न नपाइने हालको नियम, पब र रेष्टुरेन्टमा टेबल सर्भिस, थिएटर र सिनेमा हलमा सिमित दर्शकको नियम हट्नेछ ।

साथै, हालसम्म बन्द नाइट क्लब खुल्नेछन् भने घरैबाट काम गर्ने निर्देशिका पनि १६ महिनापछि हटाइने भएको छ । विवाह, अन्त्येष्टी र अन्य इभेन्टमा जति पनि सहभागी हुन पाउनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू