मंगलबार, चैत ६, २०८०
05:25 | ११:१०

नेपालमा बढीपहिरोको बितण्डाः ११ को मृत्यु, २५ बेपत्ता

रासस जुन १७, २०२१

काठमाडौं । मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ ।

जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एक-एक जनाको मृत्यु भएको हो ।

यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइरहेका छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा १५ जना सम्पर्क विहिन छन् । भारी वर्षा र हावाहुरीका कारण जाजरकोटको ४ हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनबाट सात जना हराइरहेका छन् । यस्तै बाजुरा, प्यूठान, अर्घाखाँचीमा एक-एक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ । अहिले राहत, खोज तथा उद्धार कार्य जारी रहेको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए ।

आज मनाङमा समेत राहत लिएर सेनाको हेलिकप्टर पुगेको जनाइएको छ । अहिलेसम्म बाढी पहिरोका कारण विभिन्न जिल्लामा १२९ घर पूर्ण र ११४ घरमा आंशिक क्षति पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू