शुक्रबार, चैत १६, २०८०
14:54 | २०:३९

‘नयाँ उचाईमा एनआरएनए’

डा. हेमराज शर्मा अप्रिल २०, २०२१

विश्वभर फैलिएको कोरोना महामारीका कारण हामी सबै आक्रान्त भइरहेका बेला केही समय दोधारको स्थिति सिर्जना भयो । के र कसरी गर्ने भन्ने लामो मन्थनपछि महामारीका समय यत्तिकै बस्नुहुन्न र नेपाल र विदेशस्थित नेपाली समुदायको लागि केही गर्नुपर्छ भन्ने निक्र्यौल गरियो ।

बिस्तारै सो भावनाबाट थप माथि उठेर महामारीलाई अवसरका रुपमा लिएर प्रभावकारी काम गर्नुपर्छ भन्ने निष्कर्षमा पुगियो र अहोरात्र मिहेनतका साथ सावधानीका साथ संवेदनशील भएर काम थालियो । जसका कारण महामारीका दौरानमा पनि महत्वपूर्ण सफलता हासिल गर्न सहयोग पुग्यो ।

जुन समग्र एनआरएनएकै इतिहासमा महत्वपूर्ण कोसेढुङ्गा हुन् । गैरआवासीय नेपाली संघको स्थापना कालदेखि परिकल्पना गरिएको रु १० अर्बको लगानी नेपाल भित्र्याउने महान परियोजनाको श्रीगणेश भएको छ । जसले नेपालको आर्थिक विकासको क्षेत्रमा, विकास र पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण लगानीको उद्घोष गर्ने बाटो खुलेको छ ।

प्रत्येक गैरआवासीय नेपालीले आफूलाई लगानीदूतका रुपमा पनि अपनत्व महसुस गर्न सक्ने माहोल बनाउन यसले ठूलो अर्थ राख्ने पक्का छ । ‘एनआरएनए नेपाल डेभलमेन्ट फण्ड’ को रुपमा जन्मिएको लगानीको यो बीज विश्वभरका गैरआवासीय नेपालीहरुको विश्वासले झाँगिदै जानेमा विश्वस्त छु ।

लगानीको यो बीजले कालान्तरमा राष्ट्रको समृद्धिका लागि अहम अर्थ राख्नेछ । संघका संस्थापक डा. उपेन्द्र महतोको अभिभावकत्वले यो फण्डलाई अझै विश्वासिलो र प्रभावकारी बनाउने आधार तय भएको छ । सरकारको ५० करोडको लगानी समेतमा स्थापित यो फण्ड गैरआवासीय नेपालीहरुको लागि ठूलो उपलब्धि हो ।

यद्यपि यसको निरन्तरता र प्रभावकारीताका सामना गर्नुपर्ने चुनौती समेत रहेको पक्षलाई आत्मसात गदै एकै साथ हातेमालो जरुर आवश्यक छ । अर्को खुशीको कुरा एनआरएनएनले गर्ने च्यारिटीका कार्यक्रमलाई थप पारदर्शी, व्यवस्थित र दिगो बनाउन ‘एनआरएनए फाउण्डेन’ को स्थापना गरिएको छ । संघभित्रको आन्तरिक राजनीत भन्दा टाढा रहेर, स्वतन्त्र रुपमा फाउण्डेसनले काम गर्नेछ ।

अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग फाउण्डेसनले सहकार्य गर्नेछ । चर्चित अभिनेत्री मनिषा कोईराला, पूर्व मुख्य सचिव लिलामणी पौडेल जस्ता परोपकारी र सम्माननीय व्यक्तित्वसहितका थप ११ सदस्य रहेको यस फाउण्डेशनलाई संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामिछानेले अभिभावकत्व प्रदान गर्नुभएको छ ।

उहाँको नेतृत्वमा यसले परोपकारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्नेमा विश्वस्त छु । र अर्को निकै नै गर्विलो उपलब्धि भन्नुपर्छ, पूर्व अध्यक्ष शेष घलेज्यूले सुरु गर्नु भएको लाप्राक नमूना बस्तीले सार्थकता पाएको छ । गोर्खाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नं ४ मा बनेका ५ सय ७३ निजी आवास लाभग्राहीलाई हस्तान्तरण हुँदैछन् ।

यही वैशाख ९ गते राष्ट्रपति विद्या भण्डारीको समुपस्थितिमा हुन लागेको कार्यक्रम हाम्रो लागि एउटा महत्वपूर्ण कोसेढुंगा हो । यस्तै विशेष अधिवेशनबाट पारित विधानलाई परराष्ट्र मन्त्रालयले प्रमाणिकरण गरेको छ विधानले नै फाउण्डेशन स्थापनाका केही गाँठा फुकाउन सहयोगी भूमिका निर्वाह पक्कै गरेको हो ।

साथै निर्वाचन व्यवस्थित र संघ पारदर्शी र उत्तरदायी हुने वातावरण बनेको सुनाउन पाउँदा अत्यन्त हर्षित छु । अर्कोतर्फ, कोरोना महामारीमा करीब २ लाख गैरआवासीय नेपालीहरुलाई प्रत्यक्ष सहयोग गर्ने अवसर मिल्यो । विदेशमा अलपत्र नेपालीको उद्धार, उनीहरुको लागि राहत सहयोग, टिकटसहित नेपाल आइसकेपछि समेत गन्तव्यसम्म पुरयाउन संघले अहोरात्र काम गरयो ।

महामारीमा करिब रु २३ करोडको नगद जुटाइएको थियो । जसमध्ये नेपाल सरकारलाई मात्रै ४ करोड भन्दा बढीको स्वास्थ्य सामाग्रीको सहयोग गर्ने अवसर जुरयो । आईएलओ र आईएमको प्रोजेक्ट ११ वटा र कम्मोनेन्ट भएको स्मार्ट एनआरएनए प्रोजेक्टको २ वटा प्रोडक्ट शुरु भएका छन् ।

अनलाइन मतदान केही समयमा सार्वजनिक गरिनेछ । यति धेरै काम गर्न एकल प्रयास पर्याप्त पक्कै थिएन । विश्वभरका गैरआवासीय नेपालीले बोध गरेको नेपाल र नेपालीप्रतिको जिम्मेवारी यी सफलताका मुख्य स्रोत हुन् ।

नेपाल सरकारको अर्थ मन्त्रालयमा भएको १० अर्ब लगानी भित्र्याउने सम्बन्धि कार्यक्रममा माननीय अर्थमन्त्रीज्यूले लगानीदूत भई लगानी भित्र्याउन हौसला प्रदान गरिरहँदा होस् वा लाप्राकमा निजी आवास पाएर लाभग्राहीले व्यक्त गरेको खुशी यि सकै हाम्रा लागि उर्जाका स्रोत हुन् ।

परियोजनाका परिकल्पनाकार, परियोजनाका सहयोगी, शुभचिन्तक सबै जना वास्तमा धन्यवादका पात्र हुनुहुन्छ । पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्टदेखि वर्तमान अध्यक्ष कुमार पन्तसम्मले लिनुभएको जिम्मेवारी र परियोजनाको पूर्णताका लागि विश्वभरका गैरआवासीय नेपालीले गरेको विश्वार र सहकार्यले नै आजको सफलता सम्भव भएको हो ।

(लेखक गैरआवासीय नेपाली संघका महासचिव हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू